बिमल खड्का, बुर्तिवाङ २०७३ पुस २४ । बुर्तिवाङ स्वास्थ्य केन्द्रमा सन्चालित तीन दिने निशुल्क आँखा शिविरमा आँखाको उपचार गराउन आउने विरामीहरुमा महिलाको संख्या बढी रहेको छ । केहि समय अघिमात्र समापन गरिएको शिविरमा ७५५ जना महिला तथा ५५५ जना पुरुषले आँखाको उपचार (परीक्षण) गराएका थिए ।
बागलुङ उद्योग वाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्मा कँडेलले दिएका जानकारी अनुसार शिविरमा ८५ जना महिला/पुरुषको मोतिविन्दुको शल्यक्रिया गरिएको छ भने चश्मा लगाउनु पर्ने देखिएका २५० जना विरामीलाई नेत्रज्योति संघ बागलुङमा सम्पर्क राख्न भनिएको छ ।
बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईको आयोजना, हिमालय आँखा असपताल पोखराको प्राविधिक सहयोग, नेपाल नेत्रज्योती संघ बागलुङको संयोजनमा सन्चालित निशुल्क शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ, महिला सेवा केन्द्र बुर्तिबाङ, बुर्तिबाङ गाउँ विकास समिति लगायत स्थानीय संघसंस्थाहरुको सहकार्य रहेको थियो । नि:शुल्क आँखा शिविरको गत पुस २२ गते हिमालयन आँखा अस्पताल पोखराका बरिष्ट डाक्टर हरि विक्रम अधिकारीले मेसिनव्दारा विरामीको आँखा चेक गरि शिविरको उद्घाटन गरेका थिए ।
नि:शुल्क आँखा शिविरको सन्चालनबाट बागलुङ जिल्लाको निसीभूजी क्षेत्रका जनता लाभान्वित भएकोमा खुसी व्यक्त गरिएको छ । निकट भविष्यमा पनि स्वास्थ्य शिविरहरु सन्चालन गर्न सम्वद्ध निकायहरुसंग स्थानीयले माग गरेका छन् ।