मित्रलाल खरेल, गल्कोट २०७६ पुस १३ । गल्कोट नगरपालिका ९ छिस स्थित विष्णु प्राथमिक बिद्यालयको २७ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख भरत शर्मा गैरेले बिद्यालयको भवन निर्माण हुँदैमा शिक्षाको गुणस्तर नबढ्ने बताएका छन् । नगरप्रमुख गैरेले आफ्ना बालबालिकाहरुलाई बिद्यालयमा पठाउदैमा अभिभावकको उत्तरदायित्व पूरा नहुने बताउदै शिक्षकहरुले विद्यालयको कक्षा कोठामा बिताउने समयले नै शिक्षाको गुणस्तर निर्धारण हुने हुँदा शिक्षकहरुलाई स्तरबृद्धिमा लाग्न आग्रह गरे ।
नगरपालिकाले आगामी दिनमा शिक्षाको गुणस्तरलाई बृद्धि गर्न नगर शिक्षा नीति निर्माण गरिसकेको बताउदै नगरप्रमुख गैरेले अब लागु गर्ने तयारी भैरहेको जानकारी दिए ।
गल्कोट नगरपालिकाले वडा नं छिसको विष्णु प्राविको भवन निर्माण गर्न चालु आर्थिक वर्षमा दिएको १५ लाख ८९ हजार ६ सय ४० रुपयाँ अनुदान र आन्तरिक श्रोतबाट ६ लाख १० हजार ६७ रुपयाँ गरी दुई कोठे भवन निर्माण गरिएको हो ।
सो अवसरमा गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापा,व. वडा नं ८ का अध्यक्ष रामप्रसाद कँडेल, जनजागृति मावि कााडेवासका विव्यसका अध्यक्ष बेदीलाल सापकोटा तथा प्रधानाध्यापक तेजिन्द्रबहादुर बुढाथोकी, भैरव मावि बाँसखोलाका विव्यसका अध्यक्ष घनश्याम गौतम, शिव मावि काँडेवासका प्रधानाध्यापक हरि चालिसे, विष्णु प्राविका पूर्व अध्यक्षहरु यमलाल सापकोटा र इन्द्र प्रसाद खरेलले शुभकामना मन्तव्य दिएका थिए ।
कक्षा १ देखि ५ सम्म सन्चालन भएको यस विष्णु प्राविमा २० जना छात्रा र १६ जना छात्र गरी जम्मा ३६ जना विद्यार्थीहरु अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक प्रेम सागर सापकोटाले बताए ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद सापकोटा विद्याथीहरु सुवर्ण सापकोटा र अनुष्का थापाको स्वागत तथा शिक्षिका सीता सापकोटाको सन्चालनमा सम्पन्न भएको थियो ।