Sorry, that menu does not exist.
 

थुनामा रहेका विप्लव कार्यकर्ता सापकोटा आत्मसमर्पण पश्चात रिहा !

कोपीला कंडेल, बागलुङ, २०७६ माघ ८ । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन् ।

बिप्लव नेतृत्वको नेकपाका पार्टी सदस्य रहेका बागलुङ नगरपालिका- ४ का ४५ बर्षिय डिल्ली प्रसाद सापकोटाले आत्मसमर्पण गरे लगत्तै थुना मुक्त भएका छन् । उनलाई गैरकानुनी गतिविधीमा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले गत पुस १७ गते आफ्नै निवासबाट पक्राउ गरेको थियो । सापकोटाले बुधबार एक बिज्ञप्ती प्रकाशित गरी निमित्त प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त, प्रहरी नायव उपरीक्षक नवराज भट्ट, नेपाल कम्युनिस्ट पार्टी नेकपाका चन्द्रबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेल र पत्रकार लगायतको रोहवरमा पार्टी परित्याग गरेका हुन् ।

उनलाई १० हजार धरौटी सहित साधारण तारेखमा छोडेको निमित्त प्रमुख जिल्ला अधिकारी पन्तले बताए । आत्मसमर्पण पश्चात साप्कोटाले आगामी दिनमा नेपालको कानुन र संबिधान बिपरीतका कुनैपनि गतिविधीमा संलग्न नरही स्वतन्त्र नागरिकको रुपमा रहने घोषणा गरेका छन् । उनले सरकारले रोक लगायको कुनै गैरकानुनी गतिविधिमा संलग्न नहुने र विप्लवको साधारण सदस्य समेत नरहने गरी आत्मसमर्पण गरेका हुन् ।

उनले विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय कानुन विपरित कार्यहरु गरेको हुँदा आफुलाई पार्टीको गतिविधि मन नपरेर पार्टी परित्याग गरेको बताए ।
बागलुङ नगरपालिका वडा नम्बर ४ का सापकोटालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गत पौष १७ गते आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !