Sorry, that menu does not exist.
 

ढोरपाटन-८ मा सामाजिक विकृति विसंगती न्यूनीकरण अभियान : नियम विपरीत गर्नेलाइ जरिवाना !

सुमन सुनार, बुर्तिबाङ २०७६ माघ १२ । ढोरपाटन नगरपालिका वडा नं. ८ को कार्यालयले सामाजिक विकृति न्यूनीकरण अभियान थालेको छ । सामाजिक बिकृति बिसंगती न्यूनीकरण गर्दै सभ्य समाज निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले अभियान थालेको हो ।

समाजमा व्यप्त जातिय बिभेद, घरेलु तथा महिला हिंसा, बालविवाह, बहुविवाह, जुवातास, घरेलु मदिरा उत्पादन तथा सेवन लगायतका सामाजिक विकृति न्यूनीकरणमा प्रयास थालिएको वडा अध्यक्ष नन्दे सुनारले ईबागलुङलाई बताए । ‘सामाजिक विकृति न्यूनीकरण गरौँ, सभ्य समाजको निर्माण गरौँ, भन्ने मुल नारा सहित वडा कार्यालयले अभियान थालेको सुनारको भनाई छ ।

जाँड–रक्सी सेवनकै कारण घरेलु तथा महिला हिंसाका घटनामा बृद्धि भएको भन्दै वडा अध्यक्ष सुनारले वडामा मदिरा उत्पादन तथा विक्रि वितरणमा रोक लगाईने बताए । ग्रामिण भेगमा सामाजिक चेतनाका अभावमा छुवाछुत, बालविवाह र बहुविवाह समेत अत्याधिक मात्रामा हुने भएकाले यसको न्यूनीकरणमा समेत वडाले विशेष योजनाका साथ लाग्ने वडा अध्यक्ष सुनारले बताए ।

वडा कार्यालयव्दारा शनिबार बोबाङमा एक भेलाको आयोजना गरी स्थानिय जनप्रतिनिधी, राजनैतिक दल, कर्मचारी, समाजसेवी, बुद्धिजीवी लगायत सरोकारवालाहरुसंग समाज सुधारका निम्ती के – कस्ता प्रयास गर्न सकिन्छ भन्ने विषयमा विशेष छलफल गरिएको छ ।

भेलाले सामाजिक विकृति न्यूनीकरण लागि साविक बोबाङ गाविसको वडा नं. ४ मा जंग बहादुर विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय समाज सुधार समितिको गठन गरेको छ । त्यसैगरी साविकको वडा नं. ५ मा प्रेम विश्वकर्माको संयोजकत्वमा र वडा नं. ६ मा दुर्गे सुनारको संयोजकत्वमा ११ सदस्यीय समाजसुधार समितिको गठन गरेको छ । उक्त समितिले वडामा हुने सामाजिक विकृति विसंगतीहरुमा विशेष निगरानी राख्नेछ भने त्यसको विरुद्धमा जनचेतनामूलक कार्यक्रमहरु समेत गर्ने जनाइएको छ । कोही कसैले नियम विपरीतका सामाजिक विकृतिलाई बढावा दिने कार्य गरेको पाइएमा जरिवाना सहित प्रचलित कानुन अनुसार कारबाही गर्ने निर्णय गरिएको छ । वडाको सो अभियानमा स्थानिय प्रहरीचौकीको साथ रहेको छ ।

सोही भेलाले म्याद सकिएका, अखाद्य बस्तुको विक्रि वितरणमा नियन्त्रण गर्ने उद्धेश्यले स्थानिय बजार अनुगमन समेत गर्ने निर्णय गरेको छ । यस्तै वडा कार्यालय र स्वास्थ्यचौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा लाग्ने समेत निर्णय गरिएको वडा अध्यक्ष सुनारले बताए ।

भेलामा वडा नं. ८ का वडा सदस्यहरु लाल बहादुर विक, सनिमला विक, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वडा संयोजक चुना बहादुर घर्ति, र नेकपाका नेता विर बहादुर विश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।

वडा सदस्य लिंकन घर्ति मगरको स्वागत मन्तव्य रहेको भेलाको सञ्चालन भने वडा सचिव विराज विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !