कमल पौडेल, गुल्मी वामी टक्सार २०७६ माघ १५ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले नेपाललाई कृषिमा आत्मनिर्भर गराउँदै पर्यटन जोडेर कृषि पर्यटनको माध्यमबाट विकास गर्न सकिने बताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामी टक्सारमा प्रथम गुल्मी मुसिकोट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले सो कुरा बताएका हुन।
नेपालले कफिमा ब्राजिललाई उछिन्न सक्ने भन्दै गुल्मीको कफि पर्याप्त पुर्याउन नसकिएको बताउदै अध्यक्ष तिमिल्सिनाले मुसिकोट नगरपालिका भित्रै पर्ने आँपचौरलाई थप कफि विकासको हवको रुपमा विकास गर्नुपर्ने बताए । उनले नजिकै मध्यपहाडी लोकमार्ग भएपनि गुल्मीको पुरानो सडक अझै कालोपत्रे हुन नसक्नु सुखद् नभएको भन्दै तत्काल पहल गर्न र विकासको लागी पहल गर्न आफु तयार रहेको बताए । मुसिकोट आफैमा ऐतिहासिक स्थान भएको भन्दै आवश्यक संरचना निर्माण गर्न, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माण गर्न र विकास निर्माणमा आफु योगदान गर्न तयार भएको अध्यक्ष तिमिल्सिनाले बताए । विकासको लागी मेरो तेरो नभनी सिँगो देश मेरो हुनुपर्छ भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ऐतिहासिक, धार्मिक विषयलाई पहिचान गर्न लाग्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले क्षेत्रको विकास तीब्र गतिमा भइहरको बताउँदै उक्त विकासको उपयोग गरी जनतालाई संवृद्धितर्फ लैजानु पर्नेमा जोड दिए ।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्ले, नेपाली कॉग्रेस जिल्ला कार्य समितिका सचिब बिष्णु कुमारी सापकोटा, नेकपा नगर ईन्चार्ज जीवन खरेल, कृष्णहरी सापकोटा लगायतले प्रथम मुसिकोट पर्यटन ,सांस्कृतिक , औधोगिक तथा ब्यापार मेला २०७६ महोत्सब सफलताको लागि शुभ कामना मन्तब्य राखेका थिए। महोत्सवमा स्थानीय कृषिजन्य सामग्री, घरेलु तथा साना उद्योगमा उत्पादित वस्तु लगायतका स्टलहरू राखिएको छ।
उद्योग वाणिज्य संघ वामीटक्सारले आयोजना गरेको सो प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक औधोगिक एवं व्यापार महोत्सव २०७६ को उद्घाटन समारोहमा विभिन्न झाँकी सहित स्थानिय साँस्कृतिक विविधता प्रदर्शन गरिएको छ। स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने गरि तयारी गरिएको आयोजकले जनाएको छ। कार्यक्रम उद्योग वाणिज्य संघ वामीटक्सारका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता, सचिव महेश्वर घिमिरेको सञ्चालनमा चलिरहेको छ।
तस्वीरमा प्रथम गुल्मी मुसिकोट महोत्सव
तस्वीर-रामकृष्ण कँडेल