मिनु बीसी, हेटौँडा २०७६ माघ १७ । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको स्वीकृति अनुसार राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कराते प्रशिक्षकहरु एवम् स्वयंसेवक प्रशिक्षकहरुलाइ कराते खेलको काता, कुमिते र रेफ्री सम्बन्धी परिवर्तित नियमहरुको विषयमा जानकारी गराउने मूल उद्देश्यका साथ ३ दिने एड्भान्स कराते टेक्निकल सेमिनार हेटौंडामा सम्पन्न भएको छ ।
प्रदेश टेक्निकल कमिटिको अयोजनामा माघ १३ देखि १५ गतेसम्म संचालन भएको उक्त टेक्निकल सेमिनारमा प्रदेश नं। ३ र ४ को १५० जना कराते प्रशिक्षकहरुको सहभागिता रहेको थियो । सेमिनारमा सहभागी प्रशिक्षकहरुको स्तरवृद्धि र पुनर्ताजगीका लागि काता काता, कुमिते, रेफ्री र स्परोर्टस् साइन्स् सम्बन्धी कक्षाहरु संचालन गरिएको थियो । सेमिनारमा नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे र नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेतीबाट काता र कुमिते सम्बन्धि कक्षाहरु संचालन गरिएको थियो ।
परिवर्तित नयाँ रेफ्री नियमहरुको विषयमा कराँतेका बरिष्ठ प्रशिक्षक एवम् अन्तराष्ट्रिय निर्णायक राम लामा र साउथ एसियन कराते महासंघका रेफ्री कमिशन सदस्य एवम् करातेका एसियन रेफ्री विसन मोतेले कक्षा लिएका थिए भने स्पोर्टस् साइन्स् विषयमा मिठ्ठु गुप्ताले सहभागि प्रशिक्षकहरुमा ज्ञान प्रदान गरेका थिए ।
एड्भान्स टेक्निकल सेमिनार सम्बन्धी जानकारी गराउदै नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदन कुमार उप्रेतीले १६ वर्ष पछि नेपालमा यस्तो खालको सेमिनार आयोजना भएकोले कराते प्रशिक्षकहरु उत्साहित भइ सेमिनारमा सहभागि भएको बताए । उनले यो सेमिनारलाइ अभियानको रुपमा देश भरी लैजाने बताए । प्रमुख प्रशिक्षक उप्रेतीको अनुसार टेक्निकल सेमिनार गत ९,१० र ११ गते प्रदेश नं। १ र २ को इटहरीमा १३, १४ र १५ गते प्रदेश नं। ३ र ४ को हेटौंडामा संन्चालन भएको र प्रदेश नं। ५,६ र ७ को लागि यहि १७, १८ र १९ गते कोहलपुरमा टेक्निकल सेमिनार आयोजना गरिने बताए ।