बुर्तिवाङ २०७६ फागुन ६ । भुजी र तमानखोलाको दोभान केहि तल बडीगाड नदीको लक्ष्मीकुण्ड घाटमा मोटरेबल पुल सन्चालनमा आएपछी सिधै बडीगाड नदीबाट सवारी साधनहरु वारपार गर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । यसले गर्दा नेपालको एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन अवलोकन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरुका लागी बाह्रै महिना बुर्तिवाङ-ढोरपाटन-निसीखोला यात्रा सहज बनेको महसूस भएको छ । बडीगाड नदीमा मोटरेपुल निर्माण नहुँदा वर्षायाममा सवारी साधनहरु सन्चालनमा नआउने र हिँउदमा बडीगाड नदीबाटै वारपार गर्नु पर्ने स्थिति रहि रहँदा पर्यटकहरुलाई समस्या र सास्तीको अनुभूति भैरहेको थियो । अब त्यो अवस्था रहेन ।
बुर्तिवाङ बजार देखी ढोरपाटन सम्मको सडक पक्की भै नसकेको हालको अवस्थामा सवारी साधनहरुको आवागमनमा केहि समस्या भने देखिएको छ । खासगरी बोवाङ माथीको फल्लेघरको ठाडो उकालो, निर्वाध यातायात सन्चालनमा अबरोधको रुपमा रहेको छ । सामान्य हिमपात र पानी पर्दा फल्लेघरको ठाडो उकालोमा सवारी साधनहरु चिप्लिने हुनाले दुर्घटनाको त्रास यथावत रहेको सवारी चालकहरुको गुनासो रहेको छ । ढोरपाटन जाँदा वा त्यहाँबाट फर्किदा फल्लेघरमा सवारी साधन चिप्लिएर दुर्घटना हुने गरेको उनिहरुको भनाई छ । फल्लेघरको सडकमा सवारी आवागमनलाई सहज बनाउन सडक मरम्मत कार्य सुरु गर्न आवश्यक रहेको स्थानीयको माग रहेको छ ।
नेपाल भ्रमण वर्ष २०२० जारी रहेको अवस्थामा ढोरपाटन क्षेत्रको अवलोकनमा आउने आन्तरिक एवं बाह्य पर्यटकहरुको सुरक्षित एवं विश्वसनीय यात्राको लागी फल्लेघरको सडक मरमत जरुरी छ । यस बास्तविकता प्रति ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली जानकार रहेकाले अब त, फल्लेघरको उकालोमा नगरप्रमुखको नजरमा पर्ला कि ? भन्ने आशा पलाएको स्थानीयले ईबागलुङलाई बताए ।