छविलाल पाण्डे, बुर्तिबाङ २०७६ फागुन ७ । बुर्तिवाङ बजारमा खानेपानीको सहि व्यवस्थापन हुन नसक्दा बजारबासी आक्रोशित बनेका छन् । बर्षाै देखि खानेपानीको समस्या झेल्दै आएका बजारबासीले स्थानीय सरकार बनेपछी चाँडै खानेपानीको पहुँचमा पुग्ने आश्वासन पाएपनी हालसम्म त्यसको व्यवस्थापन हुन नसक्दा बजारमा खानेपानी विषय समय समयमा चर्चामा आउने गरेको हो ।
बर्षात देखि पुस माघ महिनासम्म जसो तसो पानी धारामा आउने गरेपनी फागुन महिनाको सुरुवातदेखि असार सम्म बजारबासीलाई खानेपानीको समस्या आउने गरेको बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्ष सोम पौवी बताउछन् ।
खानेपानी व्यवस्थापनका निम्ती समसयसमयमा समिती पनी गठन हुन्छन् । तर काम त्यति प्रभाबकारी देखिँदैन बजारबासीले शुद्ध र प्रयाप्त पिउने पानी नभएको भन्दै निरन्तर आक्रोश पोख्दै आएका छन् तर त्यसको सुनुवाई कतै कसैबाट भएको पाईदैँन ।
बुर्तिबाङ बजार सहित तारीखेतलाई समेत पुग्ने गरी खानेपानी ल्याउने योजना अनुसार आर्थिक बर्ष २०७५/७६ मा गण्डकी प्रदेश सरकारको १ करोड लागतमा बुर्तिबाङ खानेपानी आयोजनाको निर्माणको काम भएको हो । उक्त आयोजना निर्माणमा जिम्मा अर्गेजा कन्ट्रक्सन प्रालीले पाएको थियो । कम्पनीले करिब एकबर्ष वितिसक्दा समेत स्थानीय समुदायलाई खानेपानी हस्तान्तरण गर्न सकेन । ढोरपाटन नगपालिका ५ मस्ती र प्याङ्खोलाको विचमा पर्ने मुहानबाट पानी ल्याउने प्रयास स्वरुप ढोरपाटन २ तारीखेत सालघारीमा दुईवटा ट्याङकी निर्माण गरेर सालझण्डी ढोरपाटन सडक खण्ड हुँदै पाईप जडान गरिएपनी निर्माण भएका दुबै ट्याँकीमा पानी चढ्न नसकेपछि करौडौँ बजेट बालुवामा पानी खन्याए सरह भएको नेकपाका नेता शेरमान घतिीले बताए ।
निर्माण कम्पनीले गत २०७६ जेठ देखि साउन महिनाको अन्तिममा काम सकेको थियो । निर्माण भएको उक्त आयोजनामा प्राविधिक स्टिमेट फेल भएपछि बजारमा पछिल्लो समय प्राविधिक देखि निर्माण कम्पनीको नाम चर्चामा छ । सडकको छेउबाट ल्याएको पाइप समेत कतै चुँडिसकेका छन् । पाईप व्यवस्थापनका निम्ती विचविचमा लगाइएका मुचुल्का भत्किएको छ । आयोजना सञ्चालन हुन नपाउँदै जीर्ण बनेको खानेपानी योजनाले थप चर्चा पाएको छ । निर्माण कम्पनीले काम समयमै सम्पन्न गरिसकेको भन्दै रकम समेत भुक्तानी समेत भैसकेको छ । तर खानेपानी भने मुहान देखि यता आउन सकेको छैन । यस विषयमा निर्माण कम्पनीका प्रमुख मछुमन अर्गेजासँग बुझ्दा आफुले समयमै काम सकेको तर बुर्तिबाङ खानेपानी आयोजनामा आफु असफल भएको बताए । आफुहरुले धेरै प्रयास गरेपनी पानी ट्याँकीमा पानी नचढेपछी समस्या भएको छ । यो प्राविधिक त्रुटी भएको ठेकदार अर्गेजाको भनाई छ । पानी ट्याङ्की देखि करिब २० मिटर तलको मोटरबाटो सम्म पुग्यो तर विचमा जोडिएका पाईप एकाएक फुस्किएर पानी अडिएन उता ट्याङ्कीमै पानी पुग्न नसकेको अर्गजाको भनाई छ ।
यस विषयमा ढोरपाटन नगरपालिका उपप्रमुख एवम् योजना अनुगमन समितीका संयोजक कर्मती पुनलाई आयोजना सञ्चालनमा नआउनुको कारणका विषयमा बुझ्दा बुर्तिबाङ खोनपानी योजना गण्डकी प्रदेश अन्तर्गतको योजना रहेको र उक्त योजनाको फरफारक समेत भइसकेको तर आफुलाई यस विषयमा त्यति धेरै जानकारी नभएको बताउँदै लाखौँ खर्च गरेर निर्माण गरिएको योजनाबाट पानी नआउदा जनस्तरबाट गुनासो उठ्नु स्वभाविक भएको बताईन् ।