बडीगाड २०७६ फागुन १९ । बडीगाड गाउपालिका वडा ७ टुनिवोटमा पहिलो पटक बस पुग्दा स्थानीयवासीले खुशियाली मनाएका छन् । स्थानीय समाजसेवी एवं जेष्ठ नागरिक पन्चवीर पाईजाको अध्यक्षतामा एवं बडीगाड गाउपालिका वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङको प्रमुख अतिथ्यतामा टुनिवोटमा पहिलो पटक बस पुगेको खुशियालिमा भब्य समारोहको आयोजना गरिएको थियो ।
कार्यक्रम द न्यु डिभाईस क्लबका अध्यक्ष दिल गुरुङको संचालन तथा समाजसेवी एवं बुद्धिजीवी युवा मन प्रसाद घर्तीको स्वागत मन्तव्य रहेको कार्यक्रममा जनप्रतिनिधि, पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी, धौलागीरी बस व्यवसायी समिति, कर्मचारी, युरो डिलक्स बस समिति, कर्मचारी, बस मालिक, बस चालक, सहचालक, प्रभावित क्षेत्रका आम मानिसहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जनक आधारभूत विधालयका अध्यक्ष दुर्गाराज पाईजा , गाडी सहचालक हरि पोखरेल तथा प्रमुख अतिथि गुरुङको शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गुरुङले सवारी चालक र सहचालकलाई पैसाको मालाले सम्मान गर्दै यो क्षेत्रमा बसोवास गर्ने आम मानिसहरुले यातायातको लागि ठूलो रकम खर्च गर्दै आएकोले सस्तो र आरमदायी यात्राको लागि यहा देखि बुटवल सम्म बस सन्चालन गर्न आग्रह गरे । पश्चिमाञ्चल बस व्यवसायी प्रालिले बस संचालन गर्ने प्रतिबद्दत्ता संगै बडिगाड ७ को टुनीबोट देखि बुटवल सम्म टिकट व्यवस्थापन गर्नका लागि चन्द्र गुरुङ ईच्छुक रहेकोले सोहि कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी बुद्ध रायमाझीले बिल र चलानी किताब चन्द्र गुरुङलाई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष गुरुङले चालकहरुले राखेको मागलाई समेत संवोधन गर्दै ठाउँ ठाउँमा गाडीलाई साईड दिन मिल्ने गरि बाटोको स्तर उन्नतिमा आफुले पहल कदमी गर्ने समेत बताए । अध्यक्ष गुरुङले हाललाई यो ठाउँबाट बुटवलको लागि सिधै बस संचालन गर्ने र केही समय पश्चात् काठमाडौंको लागि चल्ने बसको लागि समेत आफुले पहल गर्ने बताउँदै बुटवलको लागि दिवा सेवाको लागि बिहान ७ बजे र रात्री सेवाको लागि दिउँसो ३ बजे गाडी छुट्ने कुराको जानाकारी गराउँदै सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा नौमति बाजा र केही नृत्यहरु समेत रहेको थियो । कार्यक्रमको अन्तिममा कार्यक्रमका अध्यक्ष पञ्चविर पाईजाले कार्यक्रमको समापन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै यो ठाउँमा बस ल्याउन र अन्य बिकासका कार्यक्रममा अध्यक्ष गुरुङको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको कुरा स्मरण गराउँदै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।