Sorry, that menu does not exist.
 

राज्यले शिक्षाका लागि गरेको लगानीमा उल्लेख्य मात्रामा बृद्धि गर्न सांसद गिरीको माग !

निर्मल पौडेल, पर्वत २०७६ फागुन २२ । कुस्मा स्थित शिवालय माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दृष्टिबिहीन छात्रछात्राहरुलाई शैक्षिक तथा व्यक्तिगत प्रयोगका सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधिसभा सदस्य पदम गिरीले अबको शिक्षाले व्यक्तिलाई आत्मनिर्भर र बजारमा प्रतिष्पर्धा गर्न सक्षम बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।

शिक्षा युगको माग अनुसारको हुनुपर्ने र यसका लागि राज्यले शिक्षाका लागि अहिले गरिरहेको लगानीमा उल्लेख्य मात्रामा बृद्धि गर्नुपर्ने सांसद गिरीले बताए ।
कार्यक्रममा सांसद गिरीले विशेष अवस्थाका विद्यार्थीहरुलाई विशेष किसिमले नै सेवा तथा सुविधा दिने गरी व्यवस्था गरिनुपर्ने विषयमा आफूले संसदमा कुरा उठाउने र सरकारको ध्यानाकर्षण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले शिक्षा नै सबै किसिमका विकासको जग भएकाले शिक्षालाई सबै क्षेत्रबाट गम्भीरतापूर्वक लिइनुपर्ने कुरा औंल्याएका थिए। उनले शिक्षा प्राप्त गर्ने सबैको अधिकार सुनिश्चित गर्नका लागि पनि दृष्टिविहीनसहित सबैखाले अपाङ्गता भएका भाइबहिनीहरुले सहज वातावरणमा पढ्न लेख्न पाउनुपर्ने बताए ।

ग्लोबल आइएमई बैंकले आयोजना गरेको सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले बैंकले प्रदान गरेको शैक्षिक सामग्रीले दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठन र उनीहरुको दैनिक क्रियाकलापमा सहजता मिल्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंक कुस्मा शाखाका प्रवन्धक प्रकाश शर्माले आफूहरुले निर्वाह गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शिवालय माध्यमिक विद्यालय दृष्टिबिहीन स्रोत कक्षामा पढ्ने विद्यार्थीहरुलाई शैक्षिक तथा व्यक्तिगत प्रयोगका सामग्री उपलब्ध गराइएको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिन सकिने जानकारी दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा कुस्मा नगरपालिका वडा नं ६ का अध्यक्ष रुद्र गिरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, शिवालय माविका पूर्व प्राचार्य डा। चूडामणी शर्मा, संस्थापक अध्यक्ष तोयनाथ चालिसे, शिक्षा अधिकृत दीपक सुवेदी, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम जैसी, सरिता भण्डारी ‘सरु’लगायतले बैंकले गरेको उदाहरणीय कार्यको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईंले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा बैंकको तर्फबाट दृष्टिबिहीन श्रोता कक्षमा अध्ययनरत २० जना छात्रछात्राहरुलाई एक÷एक जोडा ट्याकसुट प्रदान गरिएको थियो भने छात्राबासका लागि रोटी मेकर र आइरन प्रदान गरिएको थियो । दृष्टिबिहीन स्रोत शिक्षक हरीदत्त शर्मा, कमला शर्मा, शिक्षक चिरञ्जीवी अधिकारी, ढाकाराम पुरीसहित बैंकका अन्य कर्मचारी एवम् दृष्टिबिहीन छात्रछात्राको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र्इश्वर गिरीले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !