छविलाल पाण्डे, बुर्तिवाङ २०७६ फागुन २२ । बुर्तिबाङमा नसर्ने रोग सम्बन्धी अभिमुखिकरण तथा परिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका पदाधिकारी, पत्रकार, कर्मचारी, महिला स्वास्थ्य स्वयम सेविका लगाएतको विचमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका याम बरालले सहजिकरण गर्दै विश्वमा सर्ने भन्दा नसर्ने रोगका कारण धेरै मानिसहरुको ज्यान गईरहेको तथ्याँक प्रस्तुत गरेका थिए । उनले नसर्ने रोग लाग्ने कारण, बच्ने उपाय र व्याक्तिले आफनो जीवनलाई स्वस्थ्य राख्नका निम्ती खानपान , व्यायाम लगाएत ध्यान दिनुपर्ने विषयका बारेमा प्रकाश पारेका थिए ।
विश्वको पछिल्लो तथ्याँक अनुसार नसर्ने रोगका कारण मर्नेहरुको सँख्या अनुपात ५१ प्रतिशत रहेको र बर्षेनी ४ करोड १० लाख जना मानिसले नसर्ने रोगका कारण ज्यान गुमाईरहेको जानकारी दिँदै उनले जसमध्य बढिमात्रामा मुटुका रोगी विश्वमा रहेको र मुटुको रोगका कारण मर्नेको सँख्या प्रत्यक बर्ष १ करोड ७९ लाखको हाराहारीमा हुने गरेको तथ्याँक प्रस्ुतत गरेका थिए । उनले विश्वमा मुटुरोग सहित मधुमेश, स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने रोगहरु बढि लाग्ने गरेका कारण यस्ता जटिल तर मानिसले ख्याल नगर्ने खालका रोगहरुबाट बच्न आवश्यक रहेको बताए ।
त्यस्तै कार्यक्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लले नसर्ने रोग लाग्नु र मानिसको अकालमै मृृत्यु हुनुको मुख्य कारण खानपान र शारीरिक व्यायामको कमी रहेको बताए ।
डा मल्लले पछिल्लो समय खानपानको अवस्थामा ख्याल नगर्नु जँकफुड प्रयोग, तरकारी फलफुलको प्रयोग नगर्नु धुम्रपान, मध्यपानको अत्याधिक प्रयोग, वातावरणीय प्रदुषण जस्ता कारणले नसर्ने रोगको बृद्धि भइरहेको प्रष्ट पारेका थिए । त्यस्तै मुटु, क्यान्सर, जस्ता विभिन्न ८ प्रकारका जटिल रोगहरुको उपचारमा राज्यले रु १ लाख रुपैँया सम्म आर्थिक सहायता र्गे आइरहेको समेत उनले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले समेत कार्यक्रमको विषय वस्तुका वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितीका अध्यक्ष एवम् ढोरपाटन नगरपालिका १ का अध्यक्ष चित्रभण्डारीको अध्यक्षता, सहभागिको तर्फदेखि पत्रकार राम सुवेदीको मन्तव्य, जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका याम बरालको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै भोलि बिहान ८ बजेदेखि विभिन्न विरामीको निशुल्क स्वास्थ्य चेकजाँच समेत हुने भएको छ ।
स्मरणीयछ, जिल्ला प्रशासन कार्यालय बागलुङमा हिँजो बुधवार बसेको एक बैठकले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर जिल्लामा सभा, समारोह, भोज भतेर, बार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकूद कार्यक्रमहरु नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।