हेम विश्वकर्मा बडीगाड २०७६ फागुन ३० । बडीगाड गाउँपालिका ३ सिसाखानी स्थित कञ्चनापुर आधारभुत बिद्यालयमा कक्षाकोठा अभाव हुँदा शैक्षिक ब्यबस्थापन तथा पठनपाठनमा समस्या देखिएको छ । गाउँपालिकाले यस विद्यालयको भौतिक संरचना निर्माणमा विशेष चासो राख्नु पर्ने स्थानीयको गुनासो रहेको छ । गत वर्ष रोजगारीको सिलसिलामा देश बिदेशमा रहेका सिसाखानीबासी तथा स्थानिय शिक्षा प्रेमी ब्यक्तिहरुबाट २ लाख ५७ हजार ३० रुपैँया आर्थिक सहयोग जुटेको हो । नयाँ विद्यालय भवन निर्माण भएको हो तर कोठा अभावको समस्याले पठनपाठन प्रभावित बनेको अभिभावकहरु बताउछन् ।
बि.स. २०३६ सालमा स्थापना भएको सो बिद्यालयले २०७५ सालदेखि कक्षा ६ र चालु बर्ष २०७६ देखि कक्षा ७ को पठनपाठन सञ्चलान गरिरहेको छ । आगामी शैक्षिकसत्र देखि बिद्यालयले कक्षा ८ सञ्चालन गर्नुपर्ने छ । तर बिद्यालयमा एउटा पनि कोठा खाली नभएको बिद्यालयका प्रद्यानाध्यापक पुनराम गिरीले जानकारी दिए । बिद्यालयलाइ तत्कालै दुई वटा कोठा चाहिएको प्र.अ गिरीले बताए । “बिद्यालयकै एउटा कोठामा बालशिक्षा सञ्चालित छ, हामीसँग अब एउटा पनि कोठा छैन, प्रध्यानाध्यापक गिरीले भने, आउने शैक्षिकसत्र देखि त भुँइमै राखेर पढाउनु बाहेक बिकल्प छैन ।” सिकाइमैत्री कक्षाकोठा नहुँदा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको उनको भनाइ छ ।
बिद्यालयमा १ सय ४२ जना बिद्यार्थीले पढ्छन् । चालु आर्थिक बर्षमा शिक्षा तथा समन्वय इकाइ र गाउँपालिकाको सहयोगमा ४ कोठे भवन सम्पन्न भएको छ । अहिले बिद्यालयमा ८ वटा मात्र कक्षाकोठा छन् । कक्षा कोठा थप गर्नका लागि स्थानिय पालिका, प्रदेश सरकार र संघिय सरकार समक्ष माग गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद शेरचनले बताए । “भौतिक संरचना उदेग लाग्दो छ, अध्यक्ष शेरचनले भने, शैक्षिक सामाग्री भुइमा राख्न बाध्य छौँ ।”
यस सम्बन्धमा सोही वडाका वडा अध्यक्ष खडक पुन सँग जिज्ञासा राख्दा सोे क्षेत्रको शैक्षिक बिकासका लागि आफुले कुनै कसर बाँकी नराखेको बताए । साबिक सिसाखानी गा.बि.स को वडा नं ७, ८ र ९ मा पर्ने सो क्षेत्रमा दलित समुदायको बाहुल्यता रहेकाले त्यहाँको चेतनास्तर बृद्धिका लागि पनि शैक्षिक बिकास गर्न जरुरी रहेको उनको भनाइ छ । उक्त विद्यालयको पूर्वाधार निर्माणमा सहयोग र समन्वय गरिने गाउँपालिकाले समेत जनाएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पढाइ प्रभावित हुन नहुने अभिभावक बताउँछन् ।