कुसुम थिङ, बागलुङ २०७६ चैत ८ । वैश्विकरुप लिएको कोरोना भाईरस (कोविड ९) संक्रमणका कारण झण्डै ५ सय वर्ष देखी बागलुङ कालिका भगवती मन्दिरमा लाग्ने चैत्राष्ठमि (चैते दशैँ) मेला यस वर्ष नहुने भएको छ । कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले कोरोना भाईरसको बढ्दो संक्रमणका कारण यो वर्ष चैतदशैँ मेला आयोजना नगर्ने निर्णय भएको जानकारी दिए ।
प्रत्यक वर्ष चैत्रशुक्ल अष्टमीका दिन कालिका भगवती मन्दिरमा लाग्ने चैत्राष्टमि मेला लाग्दै आएको छ । कालिका भगवती मन्दिरमा लाग्ने चैतदशैँ मेला नेपालको पश्चिम क्षेत्रकै महत्वपूर्ण मेला मानिन्छ । यो मेला यस भेगको साँस्कृतिक पर्व मानिन्छ । यस अवसरमा साँस्कृतिक, सांगीतिक एवं खेलकूद आदि कार्यक्रमहरु समेतको आयोजना गरिदै आएको छ ।
कालिका भगवती मन्दिरमा पूजाअर्चना एवं चैतदशैँ मेला भर्न स्वदेश तथा छिमकी देशहरुबाट हजारौँको संख्यामा श्रद्धालुहरु आउने गर्छन् । कम्तीमा ३/४ दिन सम्म लाग्ने मेलामा ग्रामिण भेगका स्थानीय उद्यमीहरुव्दारा उत्पादिन बाँसका डोका, डाला डाली, नांग्ला, ठेका ठेकी, फलामबाट बन्ने औजार लगायतको बजार लाग्छ भने लाखौँको बन्दव्यापार हुने गर्दछ ।
‘अहिले मन्दिरमा आउने श्रद्धालुहरुको भीडलाई कसरी व्यवस्थापन गर्ने चाँजो मिलाईएको छ ?’भन्ने प्रश्नमा व्यवस्थापन समितिका अध्यक्ष खड्काले कोरोना भाईरसको संक्रमणबाट बच्न र फैलिन नदिन कालिका भगवती मन्दिरमा आउने श्रद्धालुहरुलाई भीडभाड नगरी कालिका देवीको पूजाअर्चना गर्न अनुरोध गरिएको बताए । उनले, अहिले सम्म मन्दिरमा आउने श्रद्धालुहरुको संख्यामा कमी आएको छैन, केहि श्रद्धालुहरुले भीडभाड हुन नदिन आग्रह गर्नु भएको छ, समितिले यस आग्रहलाई गम्भीररुपमा सोँची रहेको र यसको समाधान खोज्ने जानकारी ईबागलुङलाई दिए ।
फाईल तस्वीर ।