केशबराज क्षेत्री, बरेङ २०७६ चैत ९ । बागलुङको बरेङ गाउँपालिकाले प्रसव पीडामा रहेकी एक विपन्न महिलाको उद्धार गरेको छ । आर्थिक अभावका कारण उपचार नपाएर छटपटिएकी बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर खाल्ले निवासी अन्दाजी २२ वर्षकी सीता रुचाललाई पालिकाले सम्पूर्ण खर्च व्यहोर्ने गरी एम्बुलेन्समा पाल्पाको मिसन अस्पताल पठाएको पालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
गाउँमा भिडियो एक्सरे सुविधा नभएकाले बाटाकाचौर स्वास्थ्य चौकीले बच्चा उल्टो भएको हुनसक्ने र भिडियो एक्सरे गर्नुपर्ने बताएको थियो । तर आर्थिक अभावका कारण सुत्केरी गराउनु पर्ने महिलालाई भिडियो एक्सरे गर्न तर्फ नलागेर पुनः घर लगिएको थियो ।
अध्यक्ष शर्माले बरेङ गाउँपालिका भित्रका कुनै पनि परिवारको आर्थिक स्थिति कमजोर भै सुत्केरी गराउन नसकेका महिलालाई पालिकाले सधँै सहयोग गर्ने बताए।