बुर्तिवाङ २०७६ चैत ९ । सामुदायिक रेडियो प्रशारक संघ, बागलुङले पहिलो पटक भिडियो कन्फ्रेन्स आयोजना गरेर कोरोना प्रभाव, नियन्त्रण र संक्रमण नियन्त्रणका लागि सामुदायिक रेडियोहरुको भूमिका जिम्मेवार बनाउने निर्णय गरेको छ । भिडियो कन्फ्रेन्समा सामुदायिक रेडियोहरु परिवर्तन, ढोरपाटन, विहानी, गल्कोट र बागलुङको सहभागिता रहेको थियो । संघले जिल्लाका सबै सामुदायिक रेडियोमा कार्यरत रिपोर्टरहरुका लागि, सचेत र संयम भएर आफ्ना गतिविधिलाई प्रभावकारी बनाउने भएको छ ।
बैठकले फिल्ड रिपोटिङका लागि सम्वाददातालाई नजान सचेत गराउने, अनलाईन, टेलिफोन र इमेल मार्फत रिपोटिङ गर्ने अभ्यास गराउने, सबै स्टेशनमा अनिवार्य साबुन पानीले हात हुने व्यवस्था मिलाउने, स्टुडियोमा काम गर्न सहजताका लागि माक्स, सेनेटाइजरको व्यवस्था मिलाउने, हात मिलाउने परिपाटीलाई अन्त्य गरि नमस्कार गर्ने वानी बसाउने, आ—आफ्नो स्टुडियोमा ४ जना भन्दा बढी सहकर्मी नराख्ने व्यवस्था गर्ने निर्णय गरेको संघका जिल्ला संयोजक तथा सामुदायिक रेडियो परिवर्तन बुर्तिबाङका स्टेशन प्रमुख राम सुवेदीले बताए ।
यसैबीच बैठकले सबै सामुदायिक रेडियोहरुबाट कोरोना नियन्त्रणसम्बन्धी सन्देश प्रत्येक घण्टाको २ पटक प्रशारण गर्ने, जसमा एउटा सन्देश स्वयं रेडियोको र अर्को अकोराव जिल्ला समिति बागलुङको तर्फबाट सार्वजनिक हितकालागि सन्देश जारि गर्ने, कोरना भाइरस रोकथाम, र नियन्त्रणका विषयमा जिल्लाका सबै सामुदायिक रेडियोहरुले सम्बन्धित निकायका सरोकारवालासँग टेलिफोन अन्तरवार्ता चलाउने व्यवस्था गर्ने संयोजक सुवेदीले बताए ।
यस्तै सामाजिक सञ्जालमा फैलिएका अनाधिकृत, तथ्यहीन अफावह रोक्न, सरकारी तथ्यका आधारमा आधिकारीक सूचना सन्देश प्रवाह गर्ने । सीमा नाकामा अनिवार्य चेकजाँच भए नभएको रिपोर्टिङ गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानाकारी गराउने, विषयमा सामुदायिक रेडियोको भूमिकालाई सक्रिय बनाउने संघका जिल्ला सदस्य तथा सामुदायिक रेडियो बागलुङका सञ्चालक सदस्य नारायण रिजालले प्रस्ताव राखेका थिए । बैठकले उक्त विषयमा ध्यानाकर्षण गरेको छ । उता संघका गण्डकी प्रदेश सदस्य तथा सामुदायिक रेडियो विहानी बरेङका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्यालले, सकेसम्म हात नमिलाउने र अनिवार्य माक्सको प्रयोग गर्ने सूचना रेडियोबाट बजाउनु पर्ने सवाल उठाएका थिए ।
यो जटिल परिस्थितिमा कोरोना सचेतना बिषयक रेडियो नाटक, विश्लेषण मुलक समाचार चिकित्सकसँगको बहस, जनधरणा निरन्तर जोड्ने, संघका जिल्ला सदस्य तथा सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेले प्रस्ताव राखेका थिए । स्टुडियोमा एकैपटक सबै कर्मचारी नआई पालो पालो काम गर्ने तथ्यहीन तथा अफावह फैल्याउने कुनैपनि कुरा सामाजिक संजालमा शेयर नगर्ने तथा संघको नियमित बैठक बस्ने वातावरण बनाउनु पर्नेमा सदस्य पाण्डेले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
उता संघका सदस्य तथा सामुदायिक रेडियो गलकोटमा स्टेशन प्रमुख घनश्याम गौतमले, सबै पालिकासँग सहकार्य गर्दै श्रोत जुटाउने काममा लाग्न र सचेतना अभियानमा सामुदायिक रेडियोको भूमिका जिम्मेवार बनाउनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताएका थिए ।