Sorry, that menu does not exist.
 

नगरपालिकाद्वारा ढोरपाटनका स्वास्थ्य संस्थाहरुलाई पीपीई वितरण : भ्यान भाडामा लिएर एम्बुलेन्स !

बुर्तिवाङ २०७६ चैत १४ । ढोरपाटन नगरपालिकाले आफ्नै लगानीमा पोखराबाट खरीद गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र लगायत अन्य स्वास्थ्य चौकीहरुका लागी व्यक्तिगत सुरक्षा सामाग्री पीपीई १० थान उपलव्ध गराएको छ । कोरोना भाईरसको विश्वव्यापीरुपमा संक्रमण फैलिरहेको र स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले उच्च जोखिममा रहेर संक्रमणको सन्त्रासका बीच सेवा प्रवाह गर्दै आएको अवस्थामा ढोरपाटन नगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागी अति आवश्यक मानिने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) खरीद गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ थान र नगरपालिका भित्रका स्वास्थ्य चौकीहरुलाई ५ थान उपलव्ध गराएका छ ।

बुर्तिवाङ स्थित होटेल दरबारमा आयोजित एक कार्यक्रमवीच नगरप्रमुख देवकुमार नेपालीले बुतिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच थान पीपीई (पोशाक) हस्तान्तरण गरेको केन्द्र प्रमुख डा मिलन मल्ल ठकुरीले जानकारी दिए ।

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखी एम्बुलेन्स नहुँदा यस निसी-भूजी-तमान क्षेत्रका जनतालाई निकै असुविधा भैरहेको र कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी नगरपालिकाले बिहिबार देखी एउटा भ्यान भाडामा लिएर एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याईएको पनि डा ठकुरीले बताए ।

हाललाई पोखरामा थप पीपीई उपलव्ध नभएकोले १० थान मात्र खरीद गरिएको र निकट भविष्यमा थप ५० थान पीपीई खरीद गरी स्वास्थ्य संस्थाहरुमा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

ढोरपाटन नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी बुर्तिवाङ स्थित उत्तरगंगा मावि भवनमा क्वारेन्टाईन कक्ष निर्माण गरेको छ तर चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएका ढोरपाटन ५ अधिकारीचौरका अजय बिकको स्वाब परीक्षण गर्न नगरपालिकाले गम्भीरताका साथ नलिएकोमा ढोरपाटनवासीले चिन्ता व्यक्त गरेका छन् ।

यो लिंकपनि पढौँ :
कहिले देख्न पाउला बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रले एम्बुलेन्सको मुख ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !