सुमन सुनार, बुर्तिबाङ २०७६ चैत १४ । कोरोना भाईरसको सम्भावित जोखिमलाई ध्यानमा राखी बागलुङको ढोरपाटन नगरपालिकाले विदेशबाट आएका नागरिकहरुको विवरण संकलन थालेको छ । ढोरपाटन नगर कार्यपालिका कार्यालय बुर्तिबाङमा बसेको जनप्रतिनिधी, कर्मचारी, चिकीत्सक तथा सरोकारवालाहरुको बैठकको निर्णय अनुसार, विदेशबाट आएका व्यक्तिको खोजी कार्य तीव्ररुपमा सञ्चालन गरिएको हो । नगर स्तरका प्रत्येक वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको पहिचान सहित तथ्यांक संकलन गरिरहेको नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिए ।
नगर प्रमुख नेपालीका अनुसार, हाल सम्म कोरोना भाइरस प्रभावित मुलुकहरु भारत, कतार, दुबइ लगायतका देशबाट १८ जना नागरिकहरु ढोरपाटन नगरपालिकामा आएको तथ्याङ्क संकलन भएको छ । जस अन्तर्गत वडा नं. ३ मा २ जना, वडा नं. ४ मा १ जना र वडा नं. ५ मा १५ जना विदेशबाट आएको तथ्याङ्क संकलन भएको नगर प्रमुख नेपालीको भनाई छ । तथ्याङ्क संकलन कार्य जारी रहेकाले संख्यामा बृद्धि हुन सक्ने नगरप्रमुख नेपालीको भनाइृ छ । विदेशबाट घर फर्किएका नागरिकहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले उनिहरुलाई अनिवार्य रुपमा १४ दिन सम्म सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको नगर कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए ।
गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौ अवतरण गरेकी १९ वर्षिया युवती कोरोना संक्रमित भएको पुष्टि भएपछी सोहि एयरवेजबाट काठमाडौँ आएका ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका अजय बिक आफ्नै घरमा सेल्फ क्वारेन्टाईनमा रहेका छन् । उनिसंगै सेल्फ क्वारेन्टाईनमा रहेका विदेशबाट फर्किएका नागरिकहरुको स्वास्थ्य अवस्था बारे निरन्तर सूचना संकलन भईरहेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका प्रमुख डा. मिलन मल्लले बताए ।
उनिहरुलाई कोरोना संक्रमणको लक्षण देखिने वितिकै प्रदेश तथा जिल्लाबाट विशेषज्ञ डाक्टरहरुको टोली परिक्षण तथा नमुना संकलनका लागि आउने डा. मल्लको भनाई छ ।