थम्मन थापा गल्कोट बागलुङ २०७६ चैत १५ । गल्कोट नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहाँसिक एवं पर्यटकीय हिसाबले महत्वपुर्ण क्षेत्र हो । गल्कोट नगरपालिकामा धेरै यस्ता महत्वपुर्ण स्थलहरु छन । विस्तारै पुर्वाधार विकास सँग सँगै प्रचार प्रसार हुन थालेपछि अहिले आन्तरिक पर्यटकहरुको समेत त्यि स्थानहरु रोजाईमा परेका छन ।
यस्तै मध्यको एक महत्वपुर्ण पर्यटकीय गन्तव्य हो, गल्कोट नगरपालिका ७ र ९ को सिमाना न्याय खोलामा अवस्थित पाण्डुकेश्वर गुफा । पाण्डुकेश्वर गुफा आफैमा विचित्र खालको गुफा छ । यसको आफनै धार्मिक एवं ऐतिहाँसिक महत्व छ । परापुर्वकालमा यस गुफामा बालाचतुर्दशीमा श्रदालु भक्तजनहरुको घुँईचो समेत हुने गर्दथ्यो । यस गुफा भित्र विभिन्न प्रकारका कलात्मक आकारहरु देख्न पाईन्छ । यहाँ मानिस जाँदा जति मानिस जान्छन त्यति नै पानीका लहराहरु झर्ने गर्दछन । गाईका थुन, सर्पको जस्तो आकारहरु गुफा भित्र देख्न पाईन्छ भनें गुफामा पूजा आजा पनि गर्ने प्रचलन छ ।
पाण्डुकेश्वर गुफालाई धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अहिले गल्कोट नगरपालिकाले पहल थालेको छ । गल्कोट नगरपालिका वडा नं ९ ले बाँसखोला विशारे बुटा देखि गुफा सम्म पदमार्ग निर्माण गरेको छ । झण्डै साढे २ किलोमिटर पदमार्ग निर्माणको लागि वडा नं ९ ले ५ लाख खर्च गरेको वडा अध्यक्ष तेज बहादुर थापाले जानकारी दिनुभयो । वडा अध्यक्ष थापाका अनुसार पहिले साँघुरो र निकै अफ्ठ्यारो गोरेटो बाटोमा जोखिमपुर्ण यात्रा गर्नु पर्ने बाध्यता पदमार्गको निर्माण सँगै हटेको छ ।
मध्यपहाडी लोकमार्ग सँग जोडिएको बाँसखोला देखि माथि गाउँ सम्म कच्ची सडक पुगेको छ । अब गुफा नजिक सम्म सडक पुराउन वडाले आवश्यक तयारी समेत गरिरहेको वडा कार्यालयले जनाएको छ । यता पाण्डुकेश्वर गुफासम्म पुग्न गलकोट नगरपालिका वडा नं ७ मल्मले समेत पदमार्ग निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को २ लाखमा पाण्डुकेश्वर गुफा देखि टिमलेचौर र ०७६/०७७ को २ लाख रकमबाट टिमलेचौर देखि सिद्वेश्वर शिवालय मन्दिर सम्म झण्डै २ किलोमिटर पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । गुफा सम्म पुग्न बाटो अफ्ठ्यारो र जोखिमपुर्ण भएकोले जान आउन समेत कठिन रहेकोमा अब भनें सहजता भएको अध्यक्ष थापाको भनाई छ । गुफा नजिक झण्डै ५० मिटर बाटो अहिले पनि निकै अफ्ठ्यारो छ । त्यसलाई आगामी आर्थिक वर्षमा गलकोट नगरपालिका सँगको सहकार्यमा रेलिङ सहितको पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । गुफाको नजिक झरना समेत रहेको हुँदा त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई रमाउन थप सुविधा प्रदान गरेको छ । मल्म पाण्डवखानी सडकको यात्रा पछि नाच्ने डाँडामा पुगेपछि पाण्डुकेश्वर गुफा पुग्न करिब १० मिनेटको पैदल यात्रा गर्नुपर्दछ ।