शेखर थापा, बरेङ २०७६ चैत १५ । बरेङ गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाईन सेन्टरमा चार युवकलाई राखिएको छ । हाल महामारीको रुपमा विश्वव्यापी फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड– १९ को रोकथामका लागि बाहिरबाट बरेङ गाउपालिका प्रबेश गर्नेहरुलाई निगरानी गर्ने क्रममा उनिहरुलाई शुक्रबार देखी क्वारेन्टाइनमा राखिएको हो ।
भारतको मुम्बई बाट सुनौली र सुनौली बाट ५ दिन पैदल हिंडेर पालिका प्रबेश गर्दै गरेका दुई र उनिहरुलाई सघाउन बिच बाटोसम्म गएका २ गरि ४ जनालाई क्वारेन्टाइन भर्ना गरिएको हो । जनप्रतिनिधी, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र स्थानियको रोहोवर तथा निगरानीमा उनिहरुलाई क्वारेन्टाइन राख्न शुरु गरिएको छ ।
यस सँगै बाहिर बाट समग्र बरेङ गाँउपालिका भित्रिने नबागन्तुकको संख्या हाल सम्म ३८ पुगेको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको भनाई छ । “आधिकारिक रुपमा रेकर्ड हुन आएको संख्या यहि हो, थप शंकास्पदहरुको बिषयमा खोजी तथा अनुसन्धानमा जुटिरहेका छौं” अध्यक्ष शर्माले ईबागलुङलाई बताए ।
उता नेपाल सरकारले ‘लकडाउन‘ को घोषणा गरेसँगै गाँउपालिका भित्रिने नबागन्तुकको संख्या बढ्दै गएको हुंदा थप प्रहरी परिचालन गर्दै निगरानी बढाईएको इलाका प्रहरी कार्यलय बरेङ डाँडाका ईन्चार्ज, प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले बताए । ईन्चार्ज कार्कीले “गाँउ भित्रिनेहरुको संख्या बढेसंगै एकै ठाँउमा भेला हुने, जुवा तास खेल्ने तथा भोज भतेरमा संलग्न हुनेहरुको संख्यामा समेत बृद्धि भएको रिर्पोट प्राप्त भएको छ, त्यस्ता गतिबिधिहरु रोक्न तथा भए गरेको पाईएमा तत्काल कार्बाही गर्न प्रहरीले थप सजगता तथा निगरानी बढाएको बताए ।
भारतबाटै आएका बरेङ गाँउपालिकाका थप ४ जना पाल्पा स्थित क्वारेन्टाईनमा बसिरहेका छन्, उनिहरुलाई ल्याउने तथा ल्याईसकेपछि राख्नका लागि आज अर्को क्वारेन्टाईन निर्माण गर्ने तयारी बरेङ गाँउपालिकाले गरिरहेको छ ।
स्मरणीय छ, नेपाल सरकारले ‘लक डाउन’को घोषणा गरेसँगै बरेङ गाँउपालिका पनि शैक्षिक संस्था, बित्तिय संघ संस्था, बजार, सरकारी तथा गौह्र सरकारी कार्यलयहरु सहित पुर्ण ‘लक डाउन’को स्थितिमा रहेको छ ।