मित्रलाल खरेल, गल्कोट २०७६ चैत १७ । विश्वभर कोरोनाको सन्त्रास फैलिएको छ । बैदेशिक रोजगारीका लागी भारत लगायत अन्य देशमा गएका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । मुलक लकडाउनमा छ । सवारीका कुनै साधनहरु सन्चालनमा छैनन् । घर फर्कनेहरु पैदल नै हिँडेर गाउँ आउने क्रम रोकिएको छैन । कहिले घर पुगिएला भन्ने हतारले न भोक, न निद्रा न थकाई सबै सहँदै रात दिन हिँडेर घर फर्किनेहरुको लर्को थामिएको छैन ।
गल्कोट नगरपालिका भित्र चैत १३ गतेसम्ममा भारत लगायत अन्य मुलुकहरुबाट आउने (घर फर्कने)को संख्या दुई सयको हाराहारीमा रहेको नगरपालिकाले जनाएको छ ।
अझैपनि घर फर्कने ( गल्कोट आउने) क्रम रोकिएको छैन । आज बिहान मात्रै गल्कोट नगरपालिका-८ काँडेबास वीरकोटका तीन जना दाजुभाई भारतको गोरखपुरबाट ५ दिन रात पैदल हिँडेर काँडेबास बजार आईपुगेका छन् । उनिहरुमा कोरोना संक्रमणको संभावनालाई मध्यनगर गरी स्थानीय समाजसेवी भविलाल गौतम र जनजागृति माबिका शिक्षक सुरेन्द्र छन्त्यालको पहलमा काँडेबास बजारस्थित जनजागृति माविमा बनाईएको क्वारेन्टाईन कक्षमा राखिएको छ । उनिहरु तीन जनाको लागी खानपिनको व्यवस्था गल्कोट नगरपालिका ८ वडाकार्यालयले गर्ने वडाध्यक्ष रामप्रसाद कँडेलले ईबागलुङलाई बताए ।
यसैवीच गल्कोट नगरपालिकाको ९ नं वडामा भारतबाट घर फर्केकाहरुलाई वडाध्यक्ष तेजबहादुर थापाले उनिहरुको घरमै पुगेर मास्क वितरण गरेका छन् । एकहप्ता पहिले घर फर्केका उनिहरुको स्वास्थ्य राम्रो रहेको देखिएपनि अझै केहि दिन होमक्वारेन्टाईनमा बसी आफु, परिवार र समाजलाई सुरक्षित राख्न वडाध्यक्ष थापाले आग्रह गरेका थिए ।