Sorry, that menu does not exist.
 

मालिकाले राहत बाँड्दै, विरामी अस्पताल पुराउँदै पालिका प्रमुख थापा

प्रेम सुनार, गुल्मी २०७६ चैत २१ । गुल्मीको मालिका गाउँपालिकाले त्यहाँका ४ सय घरधुरी विपन्न परिवारलाई खाद्यान्न राहत सामग्री वितरण गर्न सुरु गरेको छ । उसले अति विपन्नको वडागत विवरण संकलन गरि विहीवार देखि राहत बाँड्न सुरु गरेको हो ।

हाललाई ५ जना सदस्य संख्या रहेको प्रति परिवार ३० किलो चामल , तीन किलो दाल , एक लिटर खाने तेल , एक किलो नुनका दरले राहत वितरण गरिएको मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष थापाले भने –‘पाँच जना भन्दा बढि सदस्य हुनेहरुलाई प्रति सदस्य ५ किलोका दरले चामल अन्य सामग्री पनि त्यही अनुसार वितरण गरिरहेका छौं । ’ गाउँपालिका अध्यक्ष थापाले सबै जनप्रतिनिधी , कर्मचारी , युवा क्लव , महिला समुहलाई टोल टोर घर घरमा निगरानी बढाउन लगाईएको , खाद्यन्न अभावमा कुनै परिवारको छाक अड्को र दुख विरामी परे तत्काल वडाध्यक्ष र गाउँपालिकालाई सुचित गर्न निर्देशन दिईएको बताए ।

‘हाम्रो विकट गाउँका जनतालाई हामी भोकै मर्न र स्वास्थ्य उपचारको अभाव हुन दिन्नौं ’–गाउँपालिका अध्यक्ष थापाले थपे –‘दुई जना विरामी परे पछि अहिले म आफैले उनीहरुलाई बोकेर जिल्ला अस्पताल तम्घास आई पुगेको छु । ’। उनले पहिलो चरणमा गाउँपालिकाका अति विपन्न चार सय घरधुरीलाई उक्त राहत बाँड्न सुरु गरिएको छ । त्यस्ता थप विपन्न परिवार र अलपत्र मजदुरहरुको वडास्तरमा खोजी कार्य भई रहेको गाउँपालिका अध्यक्ष थापाले बताए ।

त्यस गाउँपालिकाका प्रबक्ता तथा वडा नम्वर ६ अर्जैैका वडाध्यक्ष शोभाखर गिरिका अनुसार त्यस वडामा ७२ घरधुरी विपन्न परिवारलाई राहत बाँडिएको छ । तत्काललाई छाक अड्किने अवस्थामा पुगेका विपन्न परिवारलाई बाँडिएको र लकडाउन लम्बिदै जाँदा अन्य परिवारमा पनि त्यस्तै समस्या आए उनीहरुलाई पनि क्रमिक रुपमले राहत वितरण गरिने वडाध्यक्ष गिरीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !