गल्कोट नपाको मेयरमा चार जनाको नाम सिफारिस, उपप्रमुखमा ललिता थापा सर्वसम्मत !
खगेन्द्र विश्वकर्मा/थम्मन थापा ‘सन्देश’, गल्कोट २०७४ वैशाख ९ । वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरि नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाको विशेष बैठक हटियामा सम्पन्न भएको छ ।
बैठकले गलकोट नगरपालिकाको मेयर पदको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट गल्कोट नगर कमिटिका सदस्य चर्चित लोकदोहोरी गायक विष्णु खत्री, मओवादी केन्द्रका पोलिटब्यूरो सदस्य फमलाल न्युरे, केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्यहरु ज्ञामनाथ गैरे अनिल र तिलक उप्रेतीलाई प्रदेशमा सिफारिस गरेको छ । उपमेयरमा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ललिता थापालाई सर्वसम्मत चयन गरेको छ ।
प्रस्तावित चार जना उमेदवार मध्य प्रदेश माओवादी केन्द्रले कसलाई गल्कोट नगरपालिकाको मेयरमा आधिकारिक उम्मेदवार बनाउछ त्यो चर्चाको विषय बनेको छ । नेकपा एमालेबाट गल्कोट नगरपालिकाका मेयरमा घोषित उमेदवार यमबहादुर श्रीस माओवादी केन्द्रमा प्रवेश गरेपछी श्रीस नै माओवादी केन्द्रबाट मेयरको उमेदवार बन्ने संभावना भने अन्त्य भएको छ ।
शुक्रवार सम्पन्न केन्द्रको विशेष बैठकका अवसरमा गल्कोट नगरपालिका भित्रका सम्पूर्ण वडाहरुमा पार्टीको पछिल्लो अवस्था, चुनावी गतिविधी लगायतको विषयमा रिपोर्टिङ समेत भएको नेकपा माओवादी केन्द्र गल्कोट नगरपालिकाका उपाध्यक्ष गंगा भुजेलले जानकारी दिए ।
आसन्न स्थानिय निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन चुनाव केन्द्रित कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन विभिन्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन समेत दिएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यहरु, केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्यहरु, नगर कमिटी सदस्यहरु, गाउॅ कमिटीका अध्यक्षहरु, वाई सि यल सदस्यहरुको उपस्थिती रहेको थियो । बैठक नेकपा माओवादी केन्द्र गल्कोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेतीको अध्यक्षता र सचिव खिम साहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।