मित्रलाल खरेल, गल्कोट २०७६ चैत २८ । वैश्विकरुप लिएको कोरोना (कोभिड १९)को संक्रमणबाट बचाउनको लागी गल्कोट नगरपालिकाले थप कार्य अगाडी बढाएको छ । यसै सन्दर्भमा नगरपालिकाले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको बैठक गरी थर्ममिटर, पीपीई लगायतका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सामाग्रीहरु खरीद गर्ने निर्णय गरेको छ ।
सरकारी र निजी क्षेत्रसंग समन्वय गरी फिवर क्लिनिक सन्चालन गर्न गल्कोट नगरपालिका अन्तरगत रहेका सरोकारवालाहरुको बैठकमा गल्कोट नगरपालिकामा होम क्वारेन्टाईनमा बसेकाहरुको स्वास्थ्य स्थिति नियमितरुपमा अनुगमन गर्ने स्वास्थ्य एवं सुरक्षाकर्मी परिचालन गर्दै अत्यावश्यक औषधी खरीद गरी व्यवस्थापन गर्ने निर्णय गरिएको छ । नगरपालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा आवश्यकतानुसार ३ देखी ६ थान पीपीई उपलव्ध गराई यसको प्रयोगबारे स्वास्थ्यकर्मीहरुलाई तालिम दिने समेत निर्णय गरिएको छ ।
चेत १ गते यता भारत लगायत अन्य विदेशी मुलुकबाट गल्कोट घरमा फर्किएका नागरिकहरुको कोभिड १९को परीक्षणका लागी चैत ३० गते गनपा ११ रिघा र गल्कोट बहुमुखी क्याम्पस हटिया गरी दुई स्थानमा कोरोना टेस्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनराज गैरेले ईबागलुङलाई जानकारी दिए ।
बैठकले कोरोना बिपद व्यवस्थापन गर्न गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरका प्रमुख डा अरुण गौतमको संयोजकत्वमा सात सदस्यीय मुल समिति गठन गरेको छ । समितिको सदस्यहरुमा ईमर्जेन्सी पोलिक्लिनिकका डा नविन परियार, नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख गणेश सुनार, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु प्रसाद सुवेदी, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नारायणध्वज मल्ल सदस्य र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गैरे सदस्य सचिव रहेका छन् ।
बैठकले नगर प्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेणुका काउचा मगर, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
बैठकमा स्वास्थ्य कर्मीहरुले प्रस्तुत गरेको रिपोर्टिङलाई मध्यनजर गर्दा गल्कोट नगरपालिका क्षेत्रमा कोरोना भाईरस संक्रमणको खतरा नदेखिएको उल्लेख गदै उपप्रमुख रेणुका काउचा मगरले विदेशबाट गल्कोट भित्रिएकाहरुको चैत ३० गते गरिने -यापिड टेस्टको रिपोर्ट पछी यस सम्वन्धमा थप प्रष्ट हुने बताईन् ।
उपप्रमुख काउचाले सरकारले कोरोना संक्रमणलाई रोक्न घोषणा गरेको लकडाउनलाई नगरबासीले पूर्णपालना गरेको प्रशंग उल्लेख गर्दै अझै धैर्यतापूर्वक यसको पालना गर्न आग्रह गरिन । बैठकमा बोल्दै उनले कोरोन विपद व्यवस्थापन समितिले आवश्यक योजना बनाउने विश्वास गर्दै योजनाका सम्वन्धमा नगरपालिकाले छलफल गरी कार्यान्वयन गरिने पनि जानकारी दिईन् ।