पर्वत २०७३ पुस २५ । स्थानिय तह पुनर्संचना आयोगले कुर्घा गाविसका ७ र ८ वडालाई छुट्टाएर महाशिला गाउँ पालिकमा र बाँकी सवै वडालाई फलेवास नगरपालिकामा समायोजन गरेको भन्दै ती २ वडाका बासिन्दाले असहमति जनाएका छन् ।
उक्त वार्डका लागि पनि फलेवास नगरपालिकानै पायक पर्ने भएकाले वडा नटुक्राईकन एकमुष्ठ रुपमा फलेवास नगरपालिकामा समायोजन गर्नुपर्ने माग गरेका छन् । महाशिला गाउँपालिकामा आफुहरुलाई राख्दा भविष्यमा समस्या हुने र साधन र श्रोतको हिसावले उक्त गाउँपालिका कमजोर भएकाले फलेवसामै गाभिनुपर्ने उनिहरुको माग छ ।
स्थानिय मिनबहादुर गुरुङले आयोगको उक्त निर्णय कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए । उक्त वडामा झण्डै २ सय घरधुरी रहेका छन् । उनिहरुले सवै घरधुरीको हस्ताक्षर सहित स्थानिय विकास अधिकारी युवराज पौडेल र स्थानिय राजनीतिक दलका प्रमुखहरुलाई आइतवार दिउँसो ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीयले उक्त निर्णय तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।