रामप्रसाद घिमिरे, बागलुङ २०७७ बैशाख १ । ढोरपाटन नगरपालिका वडा न. १ की गर्भवती महिलाको हेलिकप्टर आउन तीन घण्टा ढिला गर्दा दु:खद निधन भएको छ । सोमबार बिहान दुखाइ बढी भएपछि उपचारकालागि ८ बजे बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र ल्याईएकी बर्ष ३३ कि भिमा पाण्डेको हेलिकप्टरबाट उद्धार गरी गण्डकी हस्पिटल पोखरा ल्याउँदा उहाँको मृत्यु भईसकेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
४५ दिनको गर्भावस्थामा रहेकी पाण्डेको पाठेघर भन्दा बाहिर गर्भ बसी पठेघरको नली फुटेर अत्याधिक रक्तस्रावको कारण मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । “हामी सँग ३ दिन अगाडि जाँच गर्न आउनुभएको थियो, त्यतिबेलानै उहाँको अबस्था जटिल थियो र हामीले धौलागिरी अञ्चल अस्पताल बागलुङ या पाल्पा लैजान सल्लाह दिएका थियौं” बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले भने, ‘सुरुमा परिवारको लापरबाही देखियो,आज हेलिकप्टर आउन तीन घण्टा ढिला गर्दा ज्यान गयाे ।’
यस्ता केसहरुको छिटो उद्वार भएर निको भएको स्मरण गर्दै डा मल्लले भने, समयमै पुर्याउन सकेको भए बचाउन सकिने थियो, हामीले हेलिकप्टर आउन ढिलागरेपछि थप उपचारका लागि बागलुङ लैजान एम्बुलेन्स मार्फत बडिगाड गाउँपालिका पुर्याउदा मात्र हेलिकप्टर आयो तर त्यतिबेला सम्म धेरै रक्तस्राव भईसकेको थियो ।
कुनैपनि महिलाको गर्भवती तथा सुत्केरी अबस्थामा भौगोलिक बिकटताको कारण ज्यान नजाओस् भनि निशुल्क हवाई उद्धार गर्ने सरकारी व्यवस्था अनुसार हेलिकप्टर द्वारा उद्धार गर्ने प्रयास असफल भएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए ।