म्याग्दी, २०७४ बैशाख १० । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जि.सी.ले समृद्ध मुलुक निर्माणका लागि स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरिनु पर्नेमा जोड दिएका छन् ।
बेनी नगरपालिका वडा नंं १ रत्नेचौरमा सञ्चालित रत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड म्याग्दीले शनिवार आयोजना गरेको एक दिने शेयर सदस्यहरुका लागि सहकारी सचेतना कार्यक्रममा बोल्दै जिसीले यस्तो बताएका हुन ।
पहिचान, उत्पादन, प्रशोधन र बजारीकरणको व्यवस्थापन गर्न नसक्दा हाम्रो देशमा भएका धेरै स्रोत साधन खेर गैरहेको भन्दै जिसीले ति स्रोत साधनलाई अधिकतम परिचालनका लागि सहकारी माध्यम उपयुक्त हुने धारणा व्यक्त गरे ।
प्रविधिको विकाससंगै मानिसहरु सुविधाभोगी बन्दै गएका र घरमा सजिलै उत्पादन हुने वस्तु समेत बजारबाट खरिद गरेर खाने प्रचलन बढेको भन्दै उनले स्थानीय स्तरमा उत्पादित वस्तुको प्रयोग बढाउन सहकारीहरुले अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कल्पना थापा क्षेत्री, सचिव सुनिता महत लगायतले सहकारीलाई व्यवस्थित गर्दै अगाडि बढ्न सकेमा जनताको आर्थिक विकाससंगै सामाजिक रुपान्तरण संभव रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष टेकबहादुर रावलकोे अध्यक्षता, उपाध्यक्ष दानबहादुर महतको स्वागत र सचिव डिलबहादुर महतको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारीको संस्थागत विकासमा शेयर सदस्य, सञ्चालक र कर्मचारीको भूमिका, दीगो सहकारी निर्माणका उपाय, सहकारीमा योजना निर्माण, नीतिगत सञ्चालन र वित्तीय व्यवस्थापन लगायतका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक जिसीले सहजीकरण गरेका थिए ।