छविलाल पाण्डे, बुर्तिवाङ २०७७ बैशाख ६ । प्रभु बैंक निसीखोला शाखाले मध्यपहाडी लोकमार्ग र खानोपनी आयोजनामा कार्यरत मजदुरका लागि खाद्यान्न वितरण गरेको छ । निसीखोला गाउँपालिकासँगको समन्वयमा बैंकले मध्यपहाडी लोक मार्ग र खानेपानी आयोजनामा काम गर्ने मजदुररुहलाई खाद्यान्न वितरण गरेको प्रभु बैंक निसीखोला शाखाका प्रबन्धक ज्ञानबहादुर क्षेत्रीले ईबागलुङलाई बताए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नको लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका उनीहरुको उद्धारको लागि बैंकले गाउँपालिका सँग समन्वय गरेर खाद्यान्न सहयोग गरेको निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताए ।
मध्यपहाडी लोक मार्ग अन्तरगत पातीहाल्ने खण्डमा काम गर्ने मजदुर तथा निसीखोला गाउँपालिका वडा नम्बर ६ मा संचालित खानेपानी आयोजनामा काम गर्ने प्राबिधिकहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
बैंकले ५० जना मजदुरलाई चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न सामग्री वितरण गरेको प्रबन्धक क्षेत्रीको भनाई छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य, नायव सुब्बा पुरुषोत्तम गौतम समेतको उपस्तिथीमा राहत वितरण गरीएको थियो । लकडाउनका कारण काम नभएपछि घर जान नपाएका सडकमै अलपत्र रहेका उनिहरुका लागि आफुहरुले सहयोग गरिएको शाखा प्रमुख क्षेत्रीले बताए ।