Sorry, that menu does not exist.
 

अस्वस्थ्यकर बस्तु बिक्री गर्ने व्यापारीलाई अभयदान कहिले सम्म ?
उपभोक्ताले टेन्सन लिनु पर्दैन, म्याद गुज्रिएका सामान भए अनुगमन टोलीले उठाएर लैजान्छ : व्यापारी

बागलुङ २०७७ बैशाख १८ । विश्वमहामारीको रुपलिएको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागी मुलुक लकडाउनमा छ, । यस्तो विषम परिस्थितिमा व्यापारीहरु भने म्याद गुज्रिएका, सडेगलेका जंकफुड, विभिन्न ब्राण्डका पेय पदार्थहरु उपभोक्ताहरुलाई विक्री गरिरहेका छन् । उपभोक्ताहरु सडेगलेका अस्वस्थ्यकर अखाद्य बस्तु खान बाध्य छन् । जिल्लाका उपभोक्ताहरुको यो नियति नै बनेको छ ।

आज बैशाख १८ गते मात्रै घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख गोमादेवी रिजालको नेतृत्वमा खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख केदार पौडेल, बागलुङ नगरपालिकाकाका योजना अधिकृत युक्त सुवेदी, जिल्ला प्रशासन कार्यालय बागलुङका नासु तेजराज गौतम, जिल्ला प्रहरी कायालय बागलुङका प्रतिनिधी, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ सदस्य जयलाल सापकोटा सहितको अनुगमन टोलीले बागलुङ बजारको एक अति व्यस्त व्यापारिक स्थल शिवधारा चौक र त्यस वरपरका १४ किराना पसलहरुको अनुगमन गर्दा करीव ५० हजार मुल्य बराबरको म्याद गुज्रिएका खाने कुराहरु, पेय पदार्थहरु बरामद गरि नष्ट गरेको छ ।

गत बैशाख ९ गते पनि अनुगमन टोलीले बागलुङ बजारका एक दर्जन किराना पसल, फलफुल र तरकारी पसलहरुको अनुगमनका क्रममा म्याद गुज्रिएका कुहिएका स्वास्थ्यका लागी हानिकारक खाद्य सामाग्री नियन्त्रणमा लिएर नष्ट गरेको थियो । आज र यस अघी गरिएका बजार अनुगमनहरुमा पनि यसैगरी अखाद्य एवं अस्वस्थकर खाद्य बस्तुहरु बरामद गरी नष्ट गरिदै आएको छ । अनुगमन टोलीको अहिले सम्मको विगतलाई केलाउदा आम उपभोक्ताको हित विपरीत हुने गरी म्याद सकिएका, अस्वस्थकर खाद्यबस्तु विक्री गर्दै आएका व्यापारीहरुलाई अहिले सम्म कुनै कानूनी कार्बाही वा जरिवाना गरिएको उदाहरण छैन, मानौँ यहाँका व्यापारीहरुलाई अभयदान प्राप्त छ । कुनै सचेत उपभोक्ताले म्याद गुज्रिएका अखाद्य बस्तुका बारेमा केहि प्रश्न ग-यो भने, व्यापारीहरु भन्छन्- ‘तपाईले केहि टेन्सन लिनु पर्दैन म्याद गुज्रिएका सामान भए अनुगमन टोलीले उठाएर लैजान्छ र नष्ट गरिहाल्छ ।’

पसल पसलमा गएर त्यहाँ विक्रीमा राखिएका म्याद सकिएका अखाद्य बस्तु बरामद गरी नष्ट गर्नुृ मात्रै अनुगमन टोलीको काम हो भने भन्नु केहि छैन । होईन भने कानून विपरीत म्याद सकिएका अखाद्य बस्तु बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड गर्ने व्यापारीहरुमाथी कानूनी कार्बाही किन हुन्न ? भनी आम उपभोक्ताहरु प्रश्न गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !