बागलुङ २०७७ बैशाख २१ । बागलुङ बजारमा १२ दिनको अन्तरालमा तेश्रो पटक बजार अनुगमन गरिएको छ । २०७७ सालको बैशाख ९ गते नयाँ वर्षको पहिलो अनुगमन गरिएको थियो भने दोश्रो बजार अनुगमन बैशाख १८ गते गरिएको थियो । र आज बैशाख २१ गते तेश्रो बजार अनुगमन सम्पन्न भएको छ ।
पहिलो बजार अनुगमनमा १२, दोश्रो अनुगमनमा १४ र तेश्रो अनुगमनमा ८ पसलहरु अनुगमन गरिएको थियो । तीनै अनुगमनमा डेढ लाख बराबरको अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरिएको अनुगमन टोलीका सदस्यहरुले जानकारी दिएका छन् ।
अनुगमनका अवसरमा म्याद सकिएका खाद्यबस्तु, पेय पदार्थ, जंकफुड लगायतका बस्तुहरु रहेको टोलीले बताएको छ । आज अनुगमन गरिएका ८ पसलहरुबाट ५० हजार भन्दा बढी मुल्यका अखाद्य बस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको छ । अनुगमनबाट व्यापारीहरु रत्तिभर विचलित देखिदैनन् । तर उपभोक्ताहरु भने म्याद गुज्रिएका, अस्वस्थकर खाद्य बस्तु खुलेआम बजारमा विक्री भैरहदा चिन्तामा छन् । मानवस्वास्थ्यमा तत्काल असर पर्ने अखाद्य बस्तुहरु बजारमा खुलेआम विक्री भैरहँदा कुनै कार्बाही नगरिनु उपभोक्ता तथा मानवाधिकारकर्मीहरुलाई पचेको छैन ।
आज मात्रै म्याद गुज्रिएका घ्यू, हर्लिक्स बिस्कुट, चाउचाउ, लगायतका खाद्यबस्तु र दुषित पेयजल बरामद गरी नष्ट गरिएको टोलीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङको निर्देशनमा खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रमुख केदार पौडेलको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख गोमादेवी रिजाल, बागलुङ नगरपालिकाकाका योजना अधिकृत युक्त सुवेदी, जिल्ला प्रशासन कार्यालय बागलुङका नासु तेजराज गौतम, जिल्ला प्रहरी कायालय बागलुङका प्रतिनिधी, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ सदस्य जयलाल सापकोटा सहितको अनुगमन टोलीले व्यापारीहरुलाई अब पनि म्याद सकिएका अखाद्य बस्तु विक्री वितरण गरेको पाईएमा कडा कार्बाही गरिने चेतावनी दिएको छ ।
तर अनुगमन टोलीको बारम्बारको यो चेतावनी व्यापारीहरुका लागी निष्प्रभावी सिद्ध भएको छ । आम उपभोक्ताहरुले खुलेआम अखाद्य बस्तु बिक्री गरेर जनस्वास्थ्यमा खेलबाड गर्ने व्यापारीहरुलाई कानूनी दायरामा ल्याएर कडा कार्बाही गर्न स्थानीय प्रशासन हिच्किचाउन नहुने बताईरहेका छन् । यसरी आम नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीहरुलाई सँजाय दिलाउन अधिकारकर्मीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराउन जरुरी देखिन्छ ।
5 Comments