मित्रलाल खरेल, गल्कोट २०७७ बैशाख २२ । गल्कोट नगरपालिकाका प्रत्यक वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको छ । कोरोना संक्रमणका कारण देशमा लकडाउन जारी रहेकोले बैँकहरुमा पुगेर सेवाग्रहीले सामाजिक सुरक्षा भत्ता बुझ्न भीडभाड हुने र सामाजिक दुरीको पालना गर्न नसकिने भएपछी नगरपालिकाले प्रत्यक वडाहरुका टोलटोल र सेवाग्राहीका घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।
नेपाल बैँक गल्कोट मार्फत वडा नं ५मा, ग्लोबल आइएमई बैँक मार्फत वडा नं २ र ८ तथा प्रभु बैँक गल्कोट मार्फत वडा नं १, ३, ४, ६, ७, ९, १० र ११ मा वितरण गर्दै आईरहेकोमा कोरोना भाईरसको विषम परिस्थितिलाई मध्य नजर गरी गल्कोट नगरपालिका कार्यालय प्रत्यक वडा कार्यालयको समन्वयमा हरेक वडाको टोलटोल र घरघरमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
लकडाउनको मारमा परेका दलित बालबालिका, पूर्ण अपांगता भएका नागरिक, जेष्ठ नागरिक, विधवा एकल महिलाहरुले टोलटोलमै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउदा राहत मिलेको महसूस गरेको बताए ।
प्रभु बैँक हटिया शाखाले शनिवार विदाक दिन होस या अन्तर्राष्ट्रिय श्रमिक दिवस होस, विदा नभनी फिल्डमा खटिएर सामाजिक सुरक्षा वितरण गरिहेका छन् । अप्ठ्यारो अवस्थामा पनि आफ्नो सुविधालाई ध्यान नदिई जनताको सेवामा खट्ने राष्ट्रसेवक कर्मचारीहरु धन्यवादका पात्र रहेको उल्लेख गर्दै गल्कोट नगरपालिकाकी उपप्रमुख एवं नगरपालिकाको विषयगत क्षेत्र समन्वय समितिकी संयोजक रेणुका काउचा मगरले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सेवाग्राहीहरुलाई निकै राहत मिलेको ईबागलुङलाई बताईन् ।
प्रभु बैँक हटियाका सन्चालन प्रमुख (अपरेशन ईन्चार्ज) शिशिर बम मल्लका अनुसार गल्कोट नगरपालिकाको वडा नं ३ मा ४७ जना दलित बालबालिका, २ जना पूर्ण अपांगता, ६८ जना दलित जेष्ठ नागरिक, १३२ जना जेष्ठ नागरिक, १२ जना पूर्ण अशक्त, एकल र विधवा महिला गरी जम्मा ३७६ जनालाई रु ३४२५२००। वडा नं ४ मा ३५ जना दलित बालबालिका, ३ जना पूर्ण अपांगता, ७४ जना दलित जेष्ठ नागरिक, ७१ जना जेष्ठ नागरिक, ८ जना पूर्ण अशक्त र ५९ जना एकल विधवा महिला समेत २५० जना लाई रु २२२६८००। सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
अपरेशन ईन्चार्ज मल्लले दिएको जानकारी अनुसार गल्कोट नगरपालिकाका ३, ४, ६, ७, ९ र ११ वडाहरुमा कुल १६६ दलित बालबालिका, १५ जना पूर्ण अपांगता, ३६१ जना दलित जेष्ठ नागरिक, ५४० जना जेष्ठ नागरिक, ६० जना पूर्ण अशक्त, ९७ जना एकल महिला, ३८५ जना विधवा गरी जम्मा १६२४ जनालाई रु १५१०८०००। (अक्षेरेपि एक करोड एकाउन्न लाख आठ हजार) सामाजिक सुरक्षा भत्ता वितरण गरिसकिएको, आज र भोलि वडा न १० र बैशाख २५ र २६ गते वडा नं १ मा वितरण गरिने कार्यक्रम रहेको छ ।
नेपाल बैँकले वडा नं ५मा हिँजो देखी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको र आईएमई ग्लोबल बैँकले वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वितरण गरि सकेको नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए । यी दुई बैँकहरुबाट कति जनालाई कति सामाजिक सुरक्षा भत्ता रकम वितरण गरियो त्यस्को विवरण प्राप्त भएको छैन ।
तस्वीर- नगर उपप्रमुख रेणुका काउचा मगरव्दारा गल्कोट ११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै ।