थम्मन थापा, गल्कोट २०७७ जेठ २ । गल्कोट नगरपालिकामा आज देखि कोरोना पिसिआर परिक्षण गरिदै छ । गत वैशाख ११ गते गल्कोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्न लागिएको गल्कोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे ईबागलुङलाई बताए ।
नगर प्रमुख गैरेका अनुसार वैशाख ११ गते गल्कोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका गल्कोट नगरबासीहरुपीसीआरको पीसीआर परीक्षण गरिने छ । पीसीआर परीक्षणका लागि तयारी समेत भईसकेको नगरप्रमुख गैरेले बताए ।
अहिले सम्म १ सय जना निगरानीमा रहेको गल्कोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गल्कोटमा आज देखि ३ दिनसम्म पर्साका मजदुर संग सम्पर्कमा आएका व्यक्तिहरुको थ्रोट स्वाव संकलन गरिनेछ । १ दिनमा ३० देखि ३५ जना सम्मको थ्रोट स्वाव संकलन गर्न सकिने गुरौले बताए ।
गल्कोट नगरपालिकाले गल्कोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै जेठ १ गते देखि नगरपालिकालाई सिल गरी लकडाउनलाई थप कडा बनाएको गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन ।
बिहीबार देखि नगर भित्र एम्बुलेन्स र अस्पताल मात्रै खुल्ला रहने गरि सबै क्षेत्र ठप्प पारिएको छ । त्यस्तै गल्कोट प्रवेश गर्ने नाकाहरु गिरङदी खोला, घोडाबाँधे र जँगराको नाकामा कडाई गरिएको छ । लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन प्रहरी प्रशासन, जनप्रतिनिधी, सरोकारवालाले उच्च निगरानी राखिरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापाले जानकारी दिए ।