Sorry, that menu does not exist.
 

प्रशंगबस : तन्किदै लकडाउन, बढ्दै कोरोना संक्रमण, थलापर्दै जनजीवन …!

बागलुङ २०७७ जेठ ५ । नेपाल २०७६ साल चैत ११ गते देखी लकडाउनमा छ । विश्वव्यापीरुपमा फैलिईरहेको कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन लागु गरेको हो । तर मुलुकमा कोरोना संक्रमितको संख्या बढ्ने सिलसिला कायमै छ, घट्ने संकेत देखिएको छैन । विगत दुई दिनमा यस संक्रमणबाट एक सुत्केरी महिला र एक युवकको ज्यान गएको छ । सयौँ नेपाली नागरिक क्वारेन्टाईन र आईसोलेसनमा छन् । मुलकको जनजीवन ठप्प छ, आम नागरिक सन्त्रासमा छन् । खेतीपाती, उद्योग कलकारखाना, बन्दव्यापार ठप्प छ । गरीव, विपन्न, असाहाय, कामगरी ज्यान पाल्ने मजदुरहरुको बिचल्ली छ । राहतको नाममा प्राप्त खाद्यबस्तु बाट गुजरा गर्न बाध्य छन् । लकडाउनले हुनेखानेहरुको अवस्था पनि खस्किएको छ, आत्तिएका छन् ।

गल्कोटमा थ्रोट स्वाब संकलन गरिएका सबै १०९ जनाको पीसीआर रिपोर्ट नेगेटिव ।
टाँठाबाठा घुमिरहेका छन्, जहाँपनि पुगिरहेका छन, सिधा साधा सर्वसाधारण किंकर्तव्यबिमूढ छन् । एक वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका, एक जिल्लाबाट अर्को जिल्ला जान नपाईने कडा नियम छ । काठमाडौ उपत्यकामा छिर्नै नदिईने, छिरेपनि बस्न नपाईने जस्ता कठोर र अविवेकी कृयाकलापहरु नियन्त्रणमा आउन सकेनन् । यसलाई बिडम्वना नै मान्नु पर्ला ।

राजधानीकै एक ठुलो अस्पतालमा सुत्केरी भएकी महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मृतकका परिवारले अस्पतालमै कोरोना संक्रमण भएको बताईरहेका छन् भने नेपालगन्जको एक क्वारेन्टाईनमा राखिएका एक युवकको उपचार नपाएर मृत्यु भएको स्थानीयको आरोप छ । बेलैमा ओखती मुलो नगर्ने क्वारेन्टाईनको नाममा कुनै विद्यालयको कोठामा संकास्पद व्यक्तिहरुलाई कोचाकोच गरेर राख्ने अनि कसरी थामिन्छ कोरोनाको संक्रमण ?

गल्कोट काँडेबासको क्वारेन्टाईन
बागलुङ जिल्लाका १० पालिकाहरुमा विद्यालय भवनलाई क्वारेन्टाईन बनाईएको समाचारहरु प्रकाशमा आए, मानौं जिल्लामा क्वारेन्टाईनको लहरै आयो । दुई चारवटा खाट (बिस्तरा) राखेर हतार हतार बनाईएका क्वारेन्टाईनमा भारत लगायत तेश्रो मुलुकबाट घरफर्केकाहरुलाई राख्ने काम भयो । र अहिले पनि बाहिरबाट पालिका भित्र भित्रिनेहरुलाई त्यहाँ राख्ने गरिएको छ । तर विद्यालय भवनमा बनाईएका क्वारेन्टाईन रुमहरुको अवस्था हेर्दा धेरै आधारभूत कुराहरुको अभाव देखिएको छ । क्वारेन्टाइनमा बस्नुको तात्पर्य र क्वारेन्टाइनमा व्यवस्था गरिनु पर्ने अलग चर्पी, बाथरुम, सरसफाई, साबुन पानी, सामाजिक दुरी आदि अति जरुरी कुराहरुको मेसो के कस्तो छ त्यसबारे स्वास्थ्य शाखाले निरीक्षण गरेको अवस्था छैन । केबल यति उति संख्यामा क्वारेन्टाईन र आईसोलेसन कक्ष निर्माण गरिएको र यति मानिस त्यहाँ रहेको… विवरण मात्र दिएर शाखाको उत्तरदायित्व निर्वाह हुन्छ र ?

बिरामीलाई स्वास्थ्य उपचार र ओखतीमुलोको समस्या छ । पोखरा वा काठमाडौबाट औषधी मगाउन, झिकाउन वा चेकअप गराउन जान समस्या छ । बागलुङमा ठुला ठुला भवन सहितको अस्पताल, स्वास्थ्य केन्द्रहरु छन, थुप्रै डाक्टर स्वास्थ्यकर्मीहरु छन् तर त्यहाँ धेरै कुराको खाँचो (अभाव)छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगबाट हेलिकप्टर झिकाएर सुत्केरीलाई पोखरा पठाएको तस्वीर राखेर मानवीयताको प्रदर्शन गर्नेहरुले धौलागिरी अस्पतालमै प्रसुतिको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनु राम्रो हुन्छ । कोरोना भाईरसका कारण अस्पतालमा भेन्टिलटेर र ईन्टेन्सिभ केयर युनिट (ICU) बेडहरुको व्यवस्था हुन सक्यो, त्यस्तै सुत्केरीहरुका लागी समुचित व्यवस्था धौलागिरी अस्पतालमा गर्न सक्नु पर्छ । विगतका दशकहरुमा डा विधाननिधी पौडेल तथा डा तरुण पौडेल कार्यरत रहँदा पर्वत र म्याग्दी जिल्लाबाट समेत सुत्केरीका केसहरु बागलुङ आउथे/ल्याईन्थे । बागलुङ अस्पतालप्रति त्यस्तो विश्वास थियो । धौलागिरी अस्पतलामा डायलसिस गर्ने व्यवस्था छ, भेन्टिलेटर आयो, आईसीयु बेड बने । कोरोना संक्रमित विरामीहरु निको भएर घर फर्किए । गरे हुने रहेछ, गर्न सक्न पर्दो रहेछ । एउटा साहुले दिएको ५० बोरा चामल बाँडेर दानवीर बन्न सकिन्न, त्यो समाजले मुल्यांकन गरिहाल्छ । ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली जस्तो आफ्नै खर्चमा गरीब निमुखाहरुको मुखमा माड लगाउन सक्नु पर्छ, हेलिकप्टर झिकाएर पीडितको उद्धार गर्न सक्ने क्षमता राख्न सक्नु पर्छ र पो हुन्छ हाईहाई ।

निश्चित तोकिएको समयसीमा भित्र खरीददारी गर्नुपर्ने उपभोक्ताहरुलाई सामान पाए ठुलो कुरा हुन्छ । सस्तो महंगो म्याद सकिए नसकिएको, खान योग्य वा अयोग्य बारे निटीकुटी गर्ने समय हुन्न, उपभोक्ताहरुलाई । उपभोक्ताको हितमा अनुगमन हुन्छ भएको पनि छ तर अहिले सम्म म्याद सकिएका, सडेगलेका, अस्वस्थकर खाद्य बस्तु विक्री गर्नेहरुलाई प्रशासनबाट अभयदान प्राप्त छ, व्यापारीहरुले खुलेआम बिक्री गर्दै आएका अखाद्यबस्तुहरु बरामद गरी जलाउने काम बाहेक अहिले सम्म कुनै व्यापारीलाई कार्बाही भए गरेको अवस्था छैन ।

गल्कोट नगरपालिका र बडीगाड गाउपालिकाको सीमाना गिरौँदी खोलामा सिल ।
गल्कोटमा कार्यरत पर्सा वीरगन्ज तिरका मजदुरहरु घर फर्किए पछी उनिहरु १४ जनामा कोरोना संक्रमण देखिएपछी अहिले गल्कोट नगरपालिका सिल गरिएको छ । खुसीको कुरा, गल्कोट हटियामा पीसीआर परीक्षण गरिएका १ सय ९ जनाको रिपोर्ट नेगेटिव आएको छ । गल्कोट नगरपालिकामा मध्यपहाडी लोकमार्गको लामो खण्ड रहेको र सिलका कारण उत्पन्न विषम परिस्थितिबारे बिचार गरी सिल हटाउनु उपयुक्त देखिन्छ ।

यतिबेला विश्वका विभिन्न ठुला मुलुकहरु जहाँ कोरोना संक्रमण व्यापक बनेको छ ती मुलुकहरुमा लकडाउनको बिरोधमा प्रदर्शन भैरहेका छन । छिमेकी देश भारतमा पनि लकडाउन खुकुलो पारिनुका साथै आम नागरिकहरुलाई विशेष राहतका प्याकेजहरुको घोषणा गरिएको छ । नेपालले पनि लकडाउनलाई कसरी जनहीतमुखी बनाउने भन्ने विषयमा सोँच्नु पर्ने अवस्था आएको छ । लकडाउन भन्ने त्यस्का आधारभूत कुराहरुको कार्यान्वयनमा चासो नदिने प्रवृत्ती मुलुकका लागी हानिकारक छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !