बागलुङ २०७४ बैशाख १५ । बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाको मेयर उपमेयर तथा प्रमुख उपप्रमुख पदको उमेदवारको टिकटलाई लिएर नेपाली काँग्रेस भित्र तीब्र प्रतिष्पर्धा देखिएको छ भने कतैकतै बिद्रोहको संकेतपनि बाहिर आएको छ ।
बागलुङको ३ नं क्षेत्रको ढोरपाटन नगरपालिकाको मेयर उपमेयर र तमान, निसीखोला र बडीगाड गाउँपालिकाको मेयर उपमेयर तथा प्रमुख उपप्रमुख पदका उमेदवारको टुंगो लागेको समाचार प्रकाशमा आए लगत्तै सदरमुकाम रहेको बागलुङ नगरपालिका, जिल्लाको मध्यभागमा रहेको गल्कोट नगरपालिका र दक्षिण भेगमा अवस्थित जैमिनी नगरपालिकाकाको मेयर उपमेयर पदको उमेदवारका लागि टिकट दौड तीब्र बनेको हो ।
स्थानीय तह निर्वाचनको प्रारम्भिक चरणमा मेयर उपमेयर तथा प्रमुख उपप्रमुख पदका लागी दौडमा दर्जनौ महिला पुरुष आकांक्षीहरु देखिएपनि पछिल्लो समय बागलुङ नगरपालिकाको मेयर पदको उमेदवारी दौडमा पार्टी सभापति दिपेन्द्रबहादुर थापाको नाम अग्रपंक्तिमा रहेको छ ।
पहिले चर्चामा रहेका मेयरका आकांक्षीहरु बसन्त कुमार श्रेष्ठ, चिरन्जीवी पौडेल, सकुन्तला शर्मा लगायतका आकांक्षीहरु चुनावी दौडमा पछी परेको काँग्रेसी बृत्तमा चर्चा छ ।
नेपाली काँग्रेसको क्षत्रिय सभापतिको निर्वाचनमा चिरन्जीवी पौडेलसंग श्रेष्ठ पराजीत भएका कारणपनि श्रेष्ठको मेयर पदको दौडमा हाईट नपुग्ने काँग्रेसीहरुले टिप्पणी गरेका छन् ।
सदरमुकाम रहेको बागलुङ नगरपालिकाको मेयर पदमा पार्टीबाट सशक्त उमेदवारी दिनुपर्ने सोँच सँगै पार्टी सभापति थापाको नाम अघि सारिएको नाम नबताउने शर्तमा एक काँग्रेसी नेताले बताए ।
श्रोतका अनुसार पार्टी सभापति थापाले मेयर पदमा उमेदवारी पाएमा उपमेयरमा भूगोलका हिसावले बागलुङ बजारकी महिला संघकी अध्यक्ष सकुन्तला शर्माको पोेजिशन बलियो देखिएको छ ।
उता गल्कोट नगरपालिकाको मेयर पदमा पूर्व सांसद नरबहादुर पुन निरजको नाम चर्चामा छ । मेयरका आकांक्षीहरु फमबहादुर खत्री, भरत शर्मा गैरे, रेणुका काउचामगर, मन्जू चालिसे आदिको नाम चर्चामा रहेपनि पछिल्लो समय निरज पुनको नाम एक्कासी चर्चामा आएको हो । भेगिय हिसाव (भूगोल)ले उपमेयरमा साबिक हटिया गाविसकी मन्जू चालिसेको संभावना बढेको बतााईएको छ ।
यसैगरी जैमिनी नगरपालिकामा मेयरका आकांक्षीहरु नवराज शर्मा, काँशीराम आचार्य, हरिहर शर्मा लगायतको नाम चर्चामा रहेपनि अन्तत साविक जैदी गाविस बेलबगरका पूर्व शिक्षक ईन्द्रराज पौडेलले मेयरको टिकट पाउने दक्षिणका काँग्रेसी कार्यकर्ताहरु चर्चा गर्छन् भने उपमेयरमा साविक सर्कुवा गाविसकी समाजसेवी महिला ईमला शाहीको नाम चर्चामा छ । उपमेयरको आकांक्षीमा गीता रेग्मी पनि रहेकी छिन् ।
उता काठेखोला गाउपालिकामा नेपाली काँग्रेसबाट होमबहादुर हमाललाई प्रमुख पदमा र उपप्रमुख पदमा विहुँकी ज्ञानु श्रीस शर्माले टिकट पाउने पक्का भएको काँग्रेस निकट श्रोतले बतायो ।
स्थानीय तहको निर्वाचनमा सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेस वीच जिल्लामा चुनावी तालमेलको संभावना बढेपछी नेपाली काँग्रेसले बरेङ गाउपालिकाको प्रमुखमा माओवादी केन्द्रलाई सघाउने र उपप्रमुखमा काँग्रेसले उमेदवारी दिने चर्चा संगै ताराखोला गाउपालिकामा डण्डपाणी कँडेललाई काँग्रसले प्रमुखमा उठाउने र उपप्रमुख पद माओवादी केन्द्रलाई दिने सहमति नजिक पुगेको श्रोतको दाबी छ ।
नेपाली काँग्रसको ३ नम्वर क्षत्रीय समितिले बुर्तिवाङमा निर्णय गर्न नसकिएको भन्दै सदरमुकाम आएर ढोरपाटन नगरपालिको मेयरमा अर्जुन शेरचनको नाम टुंगो लगाएपछी काँग्रेस भित्र तीब्र बिबाद उत्पन्न भएको छ । यस निर्णयलाई क्षत्रिय समितिको षडयन्त्र भन्दै तीब्र बिबाद निस्किएको हो ।
काठमाडौँमा बसेर कारोबार गर्ने व्यक्तिलाई मेयर पदको टिकट दिनु ढोरपाटनवासीको अपमान भनेर काँग्रसीहरु टिप्पणी गरिरहेका छन् भने निसीखोला गाउपालिकाको प्रमुखमा टिकट पाएका तारानाथ पौडेल प्रतिपनि काँग्रेसीहरु आक्रोशित देखिएका छन् । साबिक राजकुत गाविसका नेपाली काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवरले पौडेलको विपक्षमा स्वतन्त्र उमेदवारी दिने उद्घोष गरिसकेका छन् ।
ढोरपाटनको मेयर र निसीखोलाको प्रमुख पदका उमेदवार बनेकाको नाम नसच्याए काँग्रेसलाई प्रत्युत्पादक हुन सक्ने खतरा बढेको काँग्रेसीबृत्तमा व्यापक टीकाटिप्पणी भैरहेको छ ।