सोम शर्मा, बागलुङ २०७७ जेठ १५ । चारैतिर कोरोना भाईरस संक्रमणको त्रास छ । यसबाट कसरी सुरक्षित रहने भन्ने सबैलाई चिन्ता छ । सामाजिक दुरी कायम गरेर, घरबाट बाहिर ननिस्किएर, साबुनपानीले हात राम्रो संग धोएर,स्यानिटाईजर प्रयोग गरेर वा व्यक्तिगत सुरक्षा सामाग्री Personal Protective Equipment (PPE) प्रयोग गरेर सुरक्षित रहने प्रयास सबैले गरेका हुन्छन् । संक्रमणको खतार झेलिरहने स्वास्थ्यकर्मीहरु त अरु भन्दा विशेष सजग र सतर्क रहनु अनिर्वार्य हुन्छ ।
पछिल्लो समय बागलुङ पश्चिममा क्वारेन्टाईन गरिएका भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाबासीमा सन्त्रासका साथै यसको संक्रमण बाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले सताउन थालेको छ । बागलुङ महेन्द्रपथमा औषधि पसल गरेर बस्ने एक जना औषधि व्यवसायीले त कोरोना संक्रमणबाट सुरक्षित रहने गजबको उपाय अबलम्वन गरेका छन् ।
हामी धौलागिरी चौक देखी बालमन्दिर चौक जाँदै गर्दा एउटा मेडिकल पसल प्लास्टिकले बारेको देख्यौँ, केहि अचम्म लाग्यो खास के रहेछ त भनेर हामी त्यहाँ सोध्न पुग्यौँ ।
सन्चो मेडिकल हल (पसल)को अगाडीको भाग सबै प्लास्टिकले बारेको थियो जस्मा ३ वटा प्वाल पारिएको थियो । हामीले त्यहाँ भित्र एप्रोन लगाएर मुखमा मास्क बेरेका ब्यक्तिलाई सोध्यौँं, तपाइ नै हो यस मेडिकल पसलको प्रोप्राईटर ? उनले भने, हो । तपाईको शुभनाम ? उनले भने खगेश्वर पौडेल । कुराकानीमा उनी औषधी ब्यबसायी संघ बागलुंगका सचिब समेत रहेको खुल्यो ।
यसरी पसललाई प्लाष्टिकले बार्नुपरेको काराण बारे हामीले सोध्यौँ । उनले भने दिनानुदिन औषधी किन्न आउने ब्यक्तिद्वारा आंफु सुरक्षित रहन सावधानी स्वरुप पसल पुरैलाई प्लाष्टिकले बारेको बताए ।
हिंजोदेखी सुरु गरेको हुँ, औषधि व्यवसायीलाई अलि जोखिम रहेकाले कसरी बच्ने त भन्ने सोचाइमा परिरहंदा यो उपाय दिमागमा फुरेको उनले बताए ।
प्लाष्टिकको बीचमा पारिएको सानो प्वालबाट औषधि बिक्री वितरण गर्ने गरेका पौडेलले आफ्नै शैलीमा कम लागतमा सजिलै बन्ने भएकाले यसैगरी सबै पसलले प्लास्टिक बेरेर आंफु अनि आफ्ना ग्राहकको स्वास्थ्यमा साबधानी अपनाउन सकिने सल्लाह दिन चाहीँ भुलेनन् ।
पौडेलले भने-‘हामी औषधि बिक्रेताहरुलाई रिस्क त छ नि, तैपनी हामी हाम्रो कर्तब्य सम्झेर दिनहुं पसल खोलेर बसेका छौं, ग्राहक त्यती धेरै त आउंदैनन तैपनी सेवा गर्नको लागी हामी बस्नैपर्ने बाध्यता छ ।’
औषधि व्यवसायी पौडेलको यो सुरक्षा कवच कत्तिको भरपर्दो र साईन्टिफिक छ त्यो त भन्न सकिएन तर प्लास्टिकले पसल सिल गरेर भित्र बसिरहँदा स्वास प्रस्वासमा समेत समस्या आउन सक्ने संभावनालाई भने नकार्न सक्ने अवस्था देखिएन । यो पनि एक प्रयोग हो भनेर चित्त बुझाउनु नै बेस ।