सोम शर्मा, बागलुङ २०७७ जेठ २१ । भारतबाट फर्किएर बागलुङका विभिन्न पालिकाहरुका बिद्यालयहरुमा बनाईएको क्वारेन्टाईनमा पाँच दिन बसेकाहरुको पीसीआर परीक्षणका लागी स्वाब नमुना संकलन गरी पोखरा पठाईएकोमा चारपाँच दिन सम्मपनि त्यस्को रिपोर्ट नआउदा क्वारेन्टाईनमा बस्नेहरु र सम्वन्धित पालिकाहरु टेन्सनमा छन् ।
यता दिनहुँ जसो भारतबाट फर्कनेहरुको संख्या बढी रहेको र विद्यालयका कोठाहरुलाई क्वारेन्टाईनमा रुपान्तरण गरी क्षमता भन्दा बढी मानिसहरु राख्दा विभिन्न समस्याहरु सिर्जना भैरहेकाले पीसीआर रिपोर्ट नेगेटिव आए उनिहरुलाई आआफ्ना घरमा पठाउन सहज हुने पालिकाहरुले बताएका छन् । समयमै पीसीआर रिपोर्ट नआउदा कथम्कदाचित कसैको रिपोट संक्रमित देखिए अन्य व्यक्तिहरुमा संक्रमण फैलिन सक्ने सन्त्रास रहेकाले रिपोट तत्काले आउनु जरुरी रहेको उनिहरुको भनाई छ ।
बागलुङ जिल्लामा हिँजो सम्ममा भारतबाट आउनेहरुको संख्या १ हजार ३ सय ४१ रहेको छ । आज पनि सयौँको संख्यामा भारतीय नाकाबाट जिल्लाबासीहरु हिँडिसकेको सूचना प्राप्त भएको छ । आफ्नो घर नजिकै आएर पनि विद्यालयमा क्वारेन्टाईन गरिएकाहरुको चिन्ता आफ्नै खालको छ । यता पीसीआर रिपोर्ट आउन ढिलाई गर्दा उनिहरु थप चिन्तामा छन् ।
निसीखोला गाउपालिकाका ६४ जनाको स्वाब संकलन गरी पोखरा पठाईएकोमा जेठ १९ गते ३८ जनाको रिपोर्ट नेगेटिव आएपनि बाँकी २६ जनाको रिपोर्ट यो समाचार लेख्दा सम्म आएको छैन भने बडीगाड गाउपालिकाका क्वारेन्टाईनमा बसेकाहरु २१० जनाको स्वाब परीक्षणका लागी पोखरा पठाईएकोमा हालसम्म ३९ जनाको रिपोर्ट आएको छ बाँकी १७१ जनाको रिपोर्ट आएको छैन । यसैगरी गल्कोट नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउपालिका लगायतबाट स्वाब संकलन गरिएकाहरुको रिपोर्ट समेत आएको छैन ।
स्वास्थ्य कार्यालय बागलुङले स्वाब संकलन गरिएका मध्य ४ सय ४ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ । सम्भवत आज सम्ममा आउछ कि भन्ने कार्यालयको विश्वास छ । पीसीआर परिक्षण गर्न धेरै स्वब संकलन गरि पठाएकोले पोखरा क्षेत्रीय प्रयोगशालामा क्षमता कमी भएकोले ढिला भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
्यसैवीच लक्षण नदेखिएका कोरोना संक्रमितलाइ धौलागिरी क्याम्पसमा राख्ने गरि तयारी थालिएको कार्यालयले जनाएको छ ।