थम्मन थापा, गल्कोट २०७७ जेठ २१ । गल्कोट नगरपालिका वडा नं ७ मल्म स्थित जनहित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका नागरिकहरुको लागि मनो वैज्ञानिक परामर्श दिइएको छ । उक्त क्वारेन्टाइनमा रहेका ६ जना नागरिकहरुलाई मनो वैज्ञानिक परामर्श दिइएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन् । क्वारेन्टाइनमा रहेका नागरिकहरुको मनोविज्ञान, सरसफाई, स्वास्थ्य सुरक्षा र सकारात्मक सोचको वृद्धि गरि आत्मबल दरो बनाउन सहज होस भन्ने उद्देश्यले यो कार्यक्रमलाई नगरपालिकामा निरन्तर अगाडि बढाइएको नगर उपप्रमुख काउचाको भनाई थियो ।
मनोवैज्ञानिक परामर्शको लागि स्वास्थ्यकर्मी शोभा काउचाले सहजीकरण गरेकी थिईन।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टीका बहादुर थापा, वडा सदस्य लोक बहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिव होम बस्नेत, नेपाली कांग्रेसका नेता ढालेन्द्र गौतम, घुम्टे युवा परिवार जापान शाखाका सल्लाहकार विकास खड्का, संस्थाका सदस्य भूमिराज थापा, मिन थापा, ओम केसी, क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक घनश्याम थापा लगायतको उपस्थिति रहेको थियो ।
मनोवैज्ञानिक परामर्श कार्यक्रमले आफूहरुलाई हौसला र आत्मबल वृद्धि भएको क्वारेन्टाइनमा रहेका नागरिकले प्रतिक्रिया दिएका छन् । कार्यक्रममा मनोविज्ञान, सरसफाई, आत्मबल वृद्धि, सकारात्मक सोच, क्वारेन्टाइनमा रहँदा पालना गर्नु पर्ने नियमहरु, कोरोना भाइरसको संक्रमण र सतर्कता सम्बन्धि परामर्श दिइएको थियो ।
आजै नगर उपप्रमुख काउचाले जनहित माध्यमिक विद्यालयमा निर्माणाधीन ४ कोठे पक्की भवनको समेत स्थलगत अनुगमन गरेकी छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाखको लागतमा अहिले ४ कोठे पक्की भवन निर्माणको काम तीव्र गतिमा चलिरहेको छ । त्यस्तै नगर उपप्रमुख काउचाले विद्यालयमा सञ्चालन भइरहेको कक्षा ८ को पूरक परीक्षाको समेत अनुगमन गरेकी थिईन् ।