सोम शर्मा, बागलुङ २०७७ जेठ २२ । भारतबाट फर्किएर क्वारेन्टिन गरिएकाहरुको पीसीआर रिपोर्ट पोजेटिव आउनेक्रम बढेपछी बागलुङ जिल्लाको ग्रामिण क्षेत्रमा कोरोनाको सन्त्रास बढेको छ । आजै मात्र कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएका निसीखोला गाउँपालिकाका ३ जना, बडीगाड गाउँपालिकाका ४ जना र गल्कोट नगरपालिकका ३ जनाको पीसीआर रिपोर्ट पोजेटिव आएको छ । जबकि क्वारेन्टाईन गरिएका झन्डै ४ सय जनाको पीसआर रिपोर्ट आउन बाँकी छ । यतिबेला, आज थपिएका संक्रमितहरुलाई कहाँ आईसोलेट (व्यवस्थापन) गर्ने भन्ने समस्या देखिएको छ । यस सम्वन्धमा पालिकाहरुले स्थानीय प्रशासन, स्वास्थ्य कार्यालय लगायत सरोकारवालाहरुसंग छलफल सुरु गरेको बताएका छन् ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा व्यवस्थापन गर्न अस्पतालको पूर्वाधारले धान्ने अवस्था छैन । धौलागिरी अस्पतालमा जम्मा १२ आईसोलेसन कक्षको क्षमता छ जबकि अहिले त्यहाँ ६ जना संक्रमितहरु आईसोलेट छन् । बुर्तिवाङ स्वास्थ्य केन्द्रमा आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय मात्र भएको छ भने गल्कोटको नरेठाँटी स्वास्थ्य चौकीमा आईलोलेसन कक्ष बनाउने कुरा मात्र चलेको छ ।
यस स्थितिमा सदरमुकाममा सन्चालित निजी अस्पताल (हस्पिटल)हरुले यस अघी नै आईसोलेसन कक्ष बनाउने सहमति समेत व्यक्त गरिसकेका हुनाले, संक्रमितहरुलाई तत्काललाई निजी हस्पिटलहरुका आईसोलेसन कक्षमा राखी उपचार गर्न उपयुक्त हुने धेरैको बुझाई छ ।
प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुसंग संक्रमितहरुको उपचार प्रवन्धका बारेमा जिज्ञासा राख्दा यस सम्वन्धमा छलफल भैरहेको बताए । उता स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले के कसो गर्ने भन्ने छलफल हुँदैछ, धौलागिरी अस्पतालमा आईसोलेसन कक्षको अभाव भएकोले धौलागिरी क्याम्पसमा व्यवस्थापन गर्ने वा होम आईसोलेसनमा बस्न लगाउने बारे छलफल भैरहेको जानकारी दिए ।
यसैबीच देशमा कोरोना संक्रमितहरुको संख्या २ हजार नाघेकाले हेल्थ ईमर्जेन्सी (स्वास्थ्य संकटकाल) घोषणा गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजाने बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ । यसो भएमा सबै निजी अस्पताल र त्यहाँका जनशक्ति सरकारले चाहे अनुसार परिचालन गर्न सक्छ भने र्यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० विधिबाट समुदायमा कतिको संक्रमण फैलिएको छ भन्ने थाहा पाउन ‘मास स्क्रिनिङ’पनि गरिन्छ ।
2 Comments