Sorry, that menu does not exist.
 

अबुधाबीबासी नेपालीहरुलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समुह सक्रिय !

खिमलाल पाण्डे, युएई २०७७ जेठ २४ । अबुधाबी- कोरोना भाइरसको फैलावटबाट रोजगारविहीन बनेका अबुधाबीबासी नेपालीहरुलाई राहत प्रदान गर्न स्वतन्त्र युवाहरूको अबुधाबी राहत वितरण समुह अब्बल सावित भएको छ । सिमित साधन र श्रोतबीच कुनै संस्थासँग सक्रिय नभएका, स्वतन्त्र युवा समुहले स्वत:स्फूर्त रुपमा शुरु गरेको राहत अभियानले प्रभावकारी रूपमा पीडित नेपालीहरुको कोठा-कोठामा पुगेर राहत वितरण गरेपछि अबुधाबीमा यो समुहप्रतिको विस्वास चुलिएको छ ।

यो समुहले गत अप्रिल १४ तारिखबाट राहत बितरन सुरु गरेकोमा अहिलेसम्म करिब ३ सय स्थानमा समस्यमा परेका १ हजार ६ सय जना नेपालीहरुलाई राहत वितरण गरिएको अभियन्ता दुर्योधन कार्कीले बताए ।

युएईमा अन्य सामाजिक संस्थाले पनि राहत वितरण गरिरहेको परिप्रेक्ष्यमा अबुधाबी एरियामा वास्तविक पीडित नेपालीहरु धेरै रहेको र सबै पीडित नेपालीहरुले राहत पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै आफुहरुले स्वतस्फूर्त रकम संकलन गरी राहत वितरण शुरु गरेको अभियन्ता महेश श्रेष्ठले जानकारी दिए ।

पहिला आफ्नै गोजीको रकमबाट खाद्यान्न खरिद गरी कामविहीन भएका, भिजिट भिसामा आएर अलपत्र परेका पीडित नेपालीहरुलाई राहत स्वरुप चामल, दाल, तेल, आलु, प्याज, नुन आदिको पुर्ण खाद्यान्न प्याकेज उपलब्ध गराएको अभियन्ता प्रकाश पौडेलले जानकारी दिए ।

यो समुहबाट वितरण गरिएका सामग्रीहरुमा चामल ७ हजार किलो, दाल ३ हजार किलो, तेल २ हजार लिटर, आलु ३ हजार ५ सय किलो, प्याज ३ हजार किलो
नुन २ हजार किलो,सोयाबिन ५ सय किलो,हल्दी र मसला ५ सय किलो रहेको अभियन्ता कार्कीले बताएका छन् ।

यो समुहलाई युएईमा रहेका मनकारी दाताहरुबाट लगभग ११ हजार ५ सय दिराम (३ लाख ६८ हजार रुपैयाँ) सहयोग प्राप्त भयको र मुल समितीबाट ६ हजार १ सय दिराम (करिब लाख रुपैयाँ) संकलन भएको बताइएको छ । मनकारी दाताहरुबाट छुट्टै तीस हजार दिराम बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध भएको जनाइएको छ ।

यो समुहलाई नेपाली दूतावास अबुधाबीबाट ५० पोका लुलु हाइपरमार्केटले प्रदान गरेको खाद्यान्न प्याकेट प्राप्त भएको र समुहको मुल समितिबाट पनि ५० ब्याग ५० खाद्यान्न प्राप्त भएर वितरण गरिसकेको अभियन्ता कार्कीले जनाएका छन् ।

पछिल्लो समय दाताहरुले प्रदान गरेको रकमबाट करिब ६ हजार दिरामको सामग्री खरिद गरिएको र समितिमा अहिले ५ हजार ५ सय दिराम बचत रहेको र यो रकमले आगामी १० दिनसम्म राहत वितरण गर्न सकिने मुल समितिले अनुमान गरेको छ । यो समुहले डाबर इन्टरनेसनलबाट प्राप्त च्यावनप्रास, साबुन, महज टुथ्पेस्ट पनि वितरण गरेको थियो ।

अबुधाबी एरियामा कोही नेपाली भोको नरहोस भन्ने उदेश्यले स्वतस्फूर्त रुपमा संचालित अभियानमा युएईमा कार्यरत उच्चतहका नेपाली कामदार, ब्यवसायी, पत्रकार र सर्वसाधारण नेपाली पनि छन् ।सहयोगी दाताहरुद्वारा प्राप्त राहतलाई पीडित नेपाली समक्ष पुर्‍याउन पुलको काम गर्ने अबुधाबी राहत समुहमा दुर्योधन कार्की, मनोज सैजु, राजेश श्रेष्ठ, महेश श्रेष्ठ, उमाकान्त पान्डे, रुपेश अधिकारी, कृष्ण गौतम, शन्कर राज घिमिरे, पुर्ण डुम्रे, मनोज श्रेष्ठ, भिम श्रेष्ठलगायतका व्यक्तित्व छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !