बागलुङ २०७७ असार ६ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले आज साँझ प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार बागलुङ जिल्लामा २९ जनामा कोरोना संक्रमण देखिएको छ । आज विहान मात्रै प्रकाशित विज्ञप्तीमा ८ जनामा संक्रमण देखिएको थियो । यसरी एकै दिन बागलुङ जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएपछी जिल्लाव्यापीरुपमा सनसनी फैलिएको छ ।
साँझ प्रकाहित विज्ञप्ती अनुसार गल्कोट नगरपालिकाका पुरुष ८, ताराखोला गाउपालिकाका पुरुष १, बडीगाड गाउपालिकाका पुरुष ३ र महिला ३ गरी ६, बागलुङ नगरपालिकाका १३ पुरुष र ढोरपाटन नगरपालिकाका १ जना पुरुष रहेका छन् ।
कोरोना ‘हट स्पट’ बन्दै काठेखोला : आज थप ८ जनामा कोरोना संंक्रमण देखियो !
भारतबाट फर्किएका २ हजार भन्दा बढी जिल्लाबासीहरु विभिन्न क्वारेन्टाईनहरु बसेका छन्। उनिहरुको स्वाब संकलन जारी रहेको छ । जो जो को स्वाब संकलन गरी पीसीआर परीक्षणका लागी प्रयोगशालामा पठाईएको छ उनिहरुमध्य अझै ५ सय भन्दा बढीको रिपोर्ट आउन बाँकी छ । आजसम्म जे जति रिपोर्ट आएको छ त्यो २ हप्ता पहिले पठाएको स्वाब नमुनाको भएकोले क्वारेन्टाईनमा बसेकाहरुमा संक्रमण फैलिने जोखिम उच्च रहेकाले जिल्लामा भयावह अवस्था आउन सक्ने सन्त्रास बढेको हो ।
क्वारेन्टाईन वा आईसोलेसनमा बसेकाहरुको १५ दिन सम्म कुनै लक्षण नदेखिए पीसीआर परीक्षण नगरीकनै घर पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशन र पीसीआर रिपोर्ट नेगेटिव नआएसम्म घर जान नदिने गण्डकी प्रदेशका मुख्य मन्त्रीको भनाईले अन्यौलता सिर्जना गरेको छ । आरडीटी परीक्षण प्रति स्थानीयको विश्वास नरहेकाले पीसीआर परीक्षणमा नै जोड सबैले गरेका छन् । स्वाब संकलन गरेको २/३ हप्ता सम्म परीक्षण नगरिनु र स्वाव संकलन गर्न बाँकी रहेकाहरु लामो समसम्म एउटै क्वारेन्टाईनमा बस्नु पर्दा संक्रमणले महामारी रुप लिन सक्ने संभावना बढेको छ ।
7 Comments