Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाको सातौ नगरसभा सम्पन्न !
कोभिड-१९ सङ्ग जुध्नका लागि स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापनमा विशेष जोड !

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७७ असार १० । ढोरपाटन नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न भएको छ । उक्त सभामा आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरिएको छ ।
उक्त कार्यक्रममा पहिलो चरणको कार्यक्रम अन्तरगत सातौं नगरसभाको औपचारिक कार्यक्रमलाई नगर प्रमुख देवकुमार नेपालीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा राजनीतिक दलहरुको शुभकामना मन्तव्यपछि नगर प्रमुख नेपालीले सातौं नगरसभामा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममा कोभिड १९ सङ्ग जुध्नका लागि स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापनमा विशेष जोड दिइएको छ । त्यसै गरी नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य कृषि लगायत विकास निर्माण, खानेपानी, ढल निकास, रोजगारीको सिर्जना, पर्यटन, खेलकुद आदि विषयहरुमा मुख्य जोड दिइएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालीले कोरोना भाइरस विरुद्ध जुध्न र ढोरपाटन नगरपालिकालाई समृद्ध नगरपालिकाको रुपमा विकास गर्दै नगरवासीहरुलाई सेवा सुविधा पुराउनका लागि सिङ्गो ढोरपाटन नगरपालिका एकजुट भएर लागेको बताए । नगर प्रमुख नेपालीले वर्तमान अत्यन्त विषम परिस्थितिमा पनि कर्तव्यनिष्ठ भई कोभिड-१९ को विरुद्ध लागि पर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडाअध्यक्षहरु लगायत जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवा, संचारकर्मी लगायतलाई धन्यवाद दिए ।

नीति तथा कार्यक्रममा नगरपालिका भित्र स्वास्थ्य सेवा र सुविधाको विस्तार गरिने, बुर्तिबाङ प्राथमिक स्वाथ्य केन्द्रलाई सुविधायुक्त अस्पतालको रुपमा सेवा विस्तार गरिने, ल्याब तथा ब्लड बैंकको व्यवस्था गरिने, दन्त तथा आँखा उपचार केन्द्र थप गरिने, नगरपालिका भित्र मेयर स्वाथ्य कार्यक्रम लागु गरिने, आईसोलेशन कक्षको थप व्यवस्थापन गरिन,े आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने लगायतका कार्यक्रमहरु रहेका छन् ।

त्यसैगरी नगरपालिकालाई कृषिमा आत्म निर्भर बनाइने, आधुनिक कृषि उत्पादनमा जोड दिइने, कृषि उत्पादन र व्यावसायीकीकरण गरी कृषिजन्य वस्तुहरुको उत्पादनमा जोड दिइने, पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार गरी तिनीहरुको संरक्षण र संवद्र्धनमा जोड दिइने, बजार क्षेत्रमा कालोबजारी रोकी त्यसको अनुगमन र निरीक्षण गरी उपभोक्त हकको संरक्षण गरिने, शिक्षामा शैक्षिक गुणस्तरलाई विकास गरी सबै विद्यालयहरुमा बालमैत्री शिक्षण सिकाइलाई जोड दिइने, सबै सामुदायिक मा.वि.हरुलाई प्रविधिमैत्री बनाउने, सबै प्रा.वि. तहका बालबालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिने, शैक्षिक जनशक्तिहरुलाई आवश्यक तालिमको व्यवस्था गरी गुणस्तर बृद्धिमा जोड दिइने, खेलकुदको विकास, कला संस्कृतिको संरक्षण र संवद्र्धन, बाटोघाटो, भवन निर्माण, भौतिक पूर्वाधारको विकास, सार्वजनिक सेवा प्रवाह र सुशासन आदि कुराहरुमा विशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उक्त कार्यक्रममा राजनीतिक दलहरुका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपाको तर्फबाट टंक प्रसाद पौडेल, नेपाली काँग्रेसका नर बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका दल बहादुर भण्डारी, राप्रपाका निम बहादुर भण्डारी लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान जटिल परिस्थितिको सामना गर्नका लागि नगरपालिकाले स्वास्थ्य सेवाको प्रवाह र विस्तारका साथै चरनात्मक कार्यक्रमलाई जोड दिनुपर्नेमा सुझाएका थिए ।
उक्त नगरसभामा उपप्रमुख करमती पुन, सम्पूर्ण वडाका वडा अध्यक्षहरु, नगरकार्यपालिकाका सदस्य, वडाका सदस्य, नगरसभाका सदस्य, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्था प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतवको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष युवराज महतले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले गरेका थिए ।
होटेल दरबार मा आयोजित उक्त नगरसभाको अहिले दोस्रो चरणको कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट विनियोजन माथि छलफल भइरहेको र बन्दसत्र चलिरहेको जनाइएको छ । छलफलपछि विनियोजित बजेटलाई नगरसभाबाट पारित गरिने नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !