थम्मन थापा गल्कोट २०७७ असार १५ । बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत बृहत गल्कोट खानेपानी योजनाको आईतबार शिलान्यास गरेका छन् ।
शिलान्यास पछि बोल्दै सांसद पौडेलले नेपाल सरकारले जनतालाई सर्वसुलभ रूपमा घर घरमै पानीको सुविधा पुराउने लक्ष्य अनुरुप काम सञ्चालन गरिरहेको बताए । बृहत गल्कोट खानेपानी योजनाले समृद्ध गल्कोट निर्माणको उद्देश्यलाई साकार पार्ने उनको भनाई छ । एक घर एक धाराको अवधारणा अनुरूप यो योजना सञ्चालन हुने पौडेलले बताए ।
योजना सम्पन्न भएपछि खानेपानीको लागि गल्कोटबासी जनतालाई सहज हुने बताउदै सांसद पौडेलले गल्कोट विस्तारै विकासको मूलधार तर्फ उन्मुख रहेको भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न अनुरोध समेत गरे ।
गल्कोट नगरपालिका वडा नम्बर ७ मल्म ढुंगेखानी स्थित खानेपानीको मुहानमा शिलान्यास गरिएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यावस्थापन योजनाका वरिष्ठ इन्जिनियर शेखर चन्द्र केसीले योजनाको बारेमा जानकारी गराएका थिए ।
यो योजना तत्कालको लागि गल्कोट नगरपालिका वडा नं ३, ५ र ७ मा सञ्चालन हुने परियोजनाले जनाएको छ । बहुवर्षीय योजना अन्तर्गत १५ करोडको लागतमा यो बृहत खानेपानी योजना सम्पन्न हुने खानेपानी योजना निर्माण समितिका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिए।
शिलान्यास कार्यक्रममा वडा सदस्य लोक बहादुर थापाले आफ्नो धारणा राखेका थिए ।
खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि एक घर एक धारा हुनेछन् । खानेपानी योजनाको अहिले पाइपलाईन निर्माण, ट्याङ्की, इन्टेक, क्याच मेन निर्माण हुने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए। शिलान्यास कार्यक्रममा जनप्रतिनधि, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, निर्माण समितिका पदधिकारीहरु, अनुगमन समितिका पदधिकारीहरु, सल्लाहकार सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । समय सापेक्ष प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स मार्फत गलकोटमा पहिलो पटक शिलान्यास कार्यक्रम गरिएको हो ।