Sorry, that menu does not exist.
 

फलेवासकी उपमेयर अधिकारीद्वारा हलो जोतेर धान दिवस तथा रोपाई महोत्सवको उद्घाटन !

लक्ष्मण बिसि, फलेवास, २०७७ असार १५ । पर्वतको फलेवास नगरपालिकामा १७ औं धान दिवस तथा रोपाइँ महोत्सव भव्य रुपमा मनाइएको छ । फलेवास नगरपालिकाको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा वडा नं. ७ जिर्दिखोलाको खेतमा रोपाइँ कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो । रोपाइ महोत्सवको फलेवास नगरपालिकाकि उपमेयर मन्जु अधिकारीले हलो जोतेर सुरु गरेकी हुन् ।

महिलाहरु पनि हरेक काम गर्न सक्षम हुन्छन भन्ने उदाहरण पेस गर्न र महिलाले हलो जोत्नु हुन्न भन्ने समाजको अन्धविश्वास तोड्नको लागि आफुले पहिलोपटक हलो जोतेको उनले बताईन । महिलाहरू पनि आत्मबल बढाएर म पनि गर्न सक्छु है भनेर लागि परेमा जुनसुकै काम गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी अधिकारीले फलेवासमा धान खेती लगाएत अन्य कृषि उत्पादन वृद्धि गर्नको लागि आधुनिकीकरण र प्रबिधिकरणमा जोड दिएको बताईन । कृषकहरु माटोसंग मन जोडेर कृषि उत्पादनमा लागेमा मेहनत अनुसारको फल प्राप्त हुने अधिकारीले बताईन । उत्पादनमा वृद्धि गर्न नगरपालिकाले मल, बिउ र सिचाइको व्यावस्था गरिएको अधिकारीले बताईन् ।

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउन भैरहेका बेला नगरमा खाद्यन्नको संकट नहोस् भनि बाझो जमिनको सदुपयोग गरि उत्पादनमा लाग्न कृषकहरूलाई अनुरोध गर्नुभयो । बाँझो जमिनलाई सदुपयोग गरि कृषि उत्पादन गर्ने किसानलाई नगरपालिकाले अनुदानको व्यवस्था गरेको उनले खुलासा गरिन । खाद्यान्न सदुपयोग गर्नको लागि खाना खाने आनिबानिमा समेत सुधार गर्नुपर्ने उपप्रमुख अधिकारीको भनाइ थियो । दिनहुँ बिहान बेलुका भात मात्र नखाई आफुले उत्पादन गरेको कोदो मकैको सदुपयोग गरि आटो ढिडो खाने हो भने पनि चामलको उपयोग कमि हुने उनले बताईन् ।

त्यस्तै कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले सहि समयको सदुपयोग गर्दै उत्पादनमा जोड दिनुपर्ने बताए । अहिलेको महामारीमा बिदेशबाट गाउँ फर्किएका युवाहरूलाई गाउँमै रमाउने वातावरण सृजना गर्दै कृषी मार्फत जिविकोपार्जन र आयस्रोत बढाउन नगरपालिकाले कृषिका विभिन्न कार्यक्रम संचालन गरेको उनले बताए । त्यस्तै उनले बर्खाको समय विकास निर्माणमा भन्दा कृषिका कार्यमा बढी जोड दिन आग्रह गरे । बर्खे बिकास दिगो नहुने भएकाले नगरबाट संचालन भएका योजनाहरु समयमै सम्पन्न गर्न अनुरोध समेत गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले नेपाल कृषी प्रधान देश भएकाले नेपाली सोही अनुसार कृषि पेसामा लाग्नुपर्ने बताउनुभयो । मेहनत गरेमा कृषि पेसाबाट पनि मनग्ये आमदानी गर्न सकिने उनको तर्क थियो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान व्लक फलेवास ४,६,१० का अध्यक्ष बलाराम भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वार्ड नं.८ ठानामौलाका वडा अध्यक्ष मन बहादुर कुवरको स्वागत मन्तव्य र कार्यक्रमको संचालन नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment