Sorry, that menu does not exist.
 

होटल व्यवसायी मञ्च गुल्मीव्दारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण !

मनु सुनार, गुल्मी २०७७ असार २२ । होटल व्यवसायी मञ्च गुल्मीले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको छ । आइतबार होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष भेषराज कंडेलले मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले गरेको बन्दाबन्दी तथा निर्देशन पालना गरि व्यवसाय पूर्ण रुपमा बन्द गरि बसिरहेको अध्यक्ष कंडेलले बताए । ज्ञापनपत्र हस्तान्तरण गर्दै अध्यक्ष कंडेलले बन्दाबन्दीका कारण जिल्लाका एक हजार भन्दा बढी कामदारहरु बेरोजगार भएको बताए ।

यसले सबभन्दा होटल व्यवसायमा परेको र उठ्नै नसकिने गरी थला परेको अवस्था रहेकोले सरकारका विभिन्न सरोकारवाला निकायमा राहतका लागि ध्यानाकर्षण गराईरहेको उल्लेख गरे । उनले सरकारले आफुहरुको मागलाई वेवास्ता गरी गैर जिम्मेवारीपन तथा व्यवसायीहरुको मर्का नबुझी मुकर्दशन भएको बताए ।

ज्ञापनपत्रमा सात बुँदे माग राखिएको छ । मागपत्रमा लकडाउन अवधि भरिको घरभाडामा ५० प्रतिशत छु दिन, घरधनीहरुलाई बैङ्क व्याजमा ५० प्रतिशत छुट तथा सहुलियत दरमा ऋण दिनु, सरकारका ३ वटै तहमा तिनुपर्न कर १ वर्षका लागि पुर्ण छुट दिन, आन्तरिक राजश्व कार्यालयमा तिनुपर्ने कर १ वर्षका लागि छुट दिन माग गरिएको छ ।

यस्तै टेलफोन, इन्टरनेट, पानी, बिजुली महसुल १ वर्षका लागि छुट, बैङ्क व्याजमा पुर्ण छुट तथा किस्ता २ वर्षसम्मको जरिमाना मिनाहा गर्न, होटल व्यवसायको प्रमाणपत्र राखी सुहलियतमा ५ प्रतिशत व्याजदरमा ऋणको व्यवस्था मिलाई दिन पनि माग गरिएको छ । आफुहरुको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य अध्यक्ष कंडेलद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस अवशरमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ज्ञापनपत्रलाई सम्बन्धीत स्थानसम्म पुर्याउने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !