मित्रलाल खरेल, गल्कोट २०७७ असार २३ । रोजगारीका लागी विदेशी भूमिमा पुगेका नेपालीहरुले पसिना बगाएर आफ्नो मातृभूमिलाई मायाँ गरिरहेका छन्। सक्दो सहयोग गरिरहेका छन् ।
विश्वमहामारीको रुप लिएको कोरोना संक्रमणको अवस्थामा रोजगारीको सिलसिलामा युके र सिँगापुर पुगेका बागलुङ जिल्लाको गल्कोट नगरपालिका ११ का रिघाली युवाहरुले नगरपालिकाको विपद व्यवस्थापन कोषकालागी रु १ लाख र वडा नं ११ को विपद व्यवस्थापन कोषका लागी रु ७७ हजार २ सय प्रदान गरेका छन् । यसका साथै रिघा स्वास्थ्य चौकीका लागी रु ६४ हजार मुल्य बराबरको थर्मल गन, पीपीई सेट, ग्लोव, सर्जिकल मास्क, सेनिटाईजर, स्प्र लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
रिघाली समाज युकेका मित्रबहादुर थापा श्रीसले हाल नेपालमा रहेका सिँगापुरमा कार्यरत कविराज काउचा मार्फत विपदको समयमा गल्कोग नगरपालिका र ११ नं वडा कार्यालयको विपद व्यवस्थापन कोषमा उक्त रकम पठाएका बताए ।
सिँगापुरमा रहेका रामप्रसाद काउचा, चन्द्रबहादुर पुन, दीपक पुन, अशोक पुन, सिर्जना थापा र कविराज काउचाले एकमुष्ट रु ४३ हजार ५ सय र बाँकी रु २ लाख रिघाली समाज युकेबाट प्राप्त भएको कविराज काउचाले जानकारी दिए ।
आफ्नो पसिनाको कमाईबाट गल्कोट नगरपालिका र वडा ११ रिघाको विपद व्यवस्थापन कोष र स्वास्थ्य चौकीका लागी स्वास्थ्य सामाग्री प्रदान गर्ने रिघाली समाज युके र सिँगापुरलाई समग्र गल्कोट नगरपालिकाले धन्यवाद प्रदान गरेको उपप्रमुख रेणुका काउचाले बताएकी छन् ।