सोम शर्मा, बागलुङ २०७७ असार २४ । बागलुङ नगरपालिका वडा नंबर ९ तित्याङमा भरखरै मात्र निर्माण सम्पन्न भएको २ करोड ३ लाखको तित्याङ स्वास्थ्य चौकी अहिले पहिरोको चपेटामा परेको छ। करिब ६ महिना अघि सम्पन्न भएको उक्त स्वास्थ्य चौकीमा २ महिना अघिदेखी सेवा सुचारु भएको थियो। नियमित रुपमा पानी पर्दा पहिरो जानू सामान्य भएतापनि भवनको स्टिमेट बनाउँदा नै सुरक्षित नबनाइएको कारणले उक्त पहिरो सोही वडाका अध्यक्ष गणेश थापाले बताए।
पहिले नै जग्गाको भौगोलिक बनावट हेरेर त्यसैअनुरुप कुनामा र डिलमा तलैबाट ग्याबिन जालीले चिन्ने काम गरेको भए यो समस्या आउने थिएन तर त्यसरी सुरक्षित बनाउन तिर सम्बन्धित निकायले चासो नदिंदा उक्त स्वास्थ्य चौकी पहिरोको जोखिममा परेको थापाको तर्क थियो। उक्त स्वास्थ्य कार्यालय निर्माणको लागि संघिय सरकारबाटै बजेट परेको थियो। संघिय सरकार अन्तर्गत सहरी बिकास तथा भवन डिभिजन कार्यालयले उक्त भवनको निर्माण गरेको थियो। अहिले उक्त स्थानमा पहिरो गएपछी पुरै स्वास्थ्य चौकी नै जोखिम रहेको भन्दै अब पुरानै स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने वडाध्यक्ष थापाको भनाइ छ।
सो स्वास्थ्य चौकीको लागि दुई जना जग्गादाताले ६ रोपनी जग्गा निशुल्क सहयोग गरेपछी २०७५ जेठबाट निर्माण प्रकृया अगाडि बढेको थियो। पहिरो गैसकेपछि अब भने विभिन्न निकायसंग माग गरि करिब १५० घनमिटर जाली लगाइने कुरा वडाध्यक्ष थापाले जानकारी दिए।
दैनिक सरदर १५(२० जना सेवाग्राही आउने गरेकोमा अब भने जोखिमका बिच काम गर्न असहज भएको स्वास्थ्य चौकीका प्रमुख नारायण पौडेलले बताए। उनले भने यहि १३ गतेबाट पहिरो जान सुरु भएको थियो हिजो झन जमिन भासिने गरि पहिरो गयो, स्वास्थ्य चौकीको पिल्लरनेरैबाट जमिन भासिएको र चिनेको जाली समेत भत्काएको छ , हामी सुबिधा सम्पन्न भवन भनेर पुरानो भवनबाट सरेर यहाँ आयौं अब यहाँ पनि समस्या होला जस्तो छ पुरानै भवनमा जाने सोच बनाएका छौं। यस्को कार्य छिटै सम्पन्न भएमा सेवाग्राहीलाइ सुरक्षित र ढुक्क तबरले काम गर्न सक्ने थियौं।