अनिष पाठक, गुल्मी २०७७ असार २७ । असार १८ गतेको त्यो रात अनि रातसंगै परेको मुसलधारे पानी । जुन रात गुल्मी जिल्लाको मुसिकोट आसपासका कसैको पनि निद्रा लागेन तर कति यसरी निदाए कि उनिहरु अब कहिल्यै उठ्दैनन् । त्यसरी निदाउनेमा गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौरका १८ महिनाका बालक सिजन सारु संगै मुसिकोट २ दुलुङ्गका भागीरथ घिमिरे पनि परे ।
बर्खायामको समयमा काममै व्यस्त रहेका भागीरथले केहि सामान छिमेकीसंग अैंचोपैंचो गरेर चलाइरहेका थिए । ३÷४ दिनदेखिको अैंचोपैंचोको समान फिर्ता गर्न र घरमा समान थप गर्न हाँडीखोला तिर झरेका थिए भागिरथ । बजार झरेको केही समय पछि वर्षा हुन थाल्यो र त्यस दिन उनी त्यँहि पसलमा बसे । र साँझ माईला दाजु बासुदेव घिमिरेसगं फोनमा निकैबेर कुराकानी पनि गरे ।
परिवारसंगै रुपन्देहीको तिलोत्तमामा बस्दै आएका उनका दाजु वासुदेव घिमिरेलाई के थाहा भाइसंग बोलेको त्यो बोलि नै अन्तीम बोलि होला भनेर । कुराकानि गरेकै रात भाइ पहिरोले पुरिएकोे खबर पाउनासाथ बुटबलबाट दलुङ आए वासुदेव । बर्खायामको बेला जेनतेन दुलुङ्ग आउँदा भाई हराएको पीडासगैं गाउँभरी आएको पहिरोको विपत्तीले उनको मन थामिएन । पहिरोमा पुरिएका भागीरथलाई स्थानियले फेला पार्न नसकेपछि उनि पुरिएको ३ दिनमा मुसिकोट नगरपालिकोले जेसिभि लगाएर खोजि गरेतापनि उनको अवस्था अझै पनि अज्ञात नै रहेको छ ।
हाँडिखोलामा आएकोे पहिरो र भेल सहितको बाढिले भागीरथ त्यो दिन बसेको पसल सहित २ वटा भट्टी पसल पुर्यो । केहि समय अगाडिमात्र बर्खाको लागि भनेर भट्टी संचालक ईस्मा गाँउपालिका १ हस्तिचौर स्थायी घर भई दुलुङ्गमा घुम्ती पसल संचालन गर्दै आएका हरि बहादुर घिमिरेले झण्डै २ लाख बराबरको सामान थपेको थिए । सधैका दिन जस्तै साझ ६ बजे नै पसल बन्द गरी खाना खाएर पसलमै सुतेका घिमिरे राति १० बजे निद्राबाट व्युँझिँदा बाहिर वर्षा भईरहेकै थियो । अरुबेला पनि पानी परेको बेला पसल भित्र पानिसंगै भल पस्लाकि भनेर पानि तर्काउने उनि त्यसदिन भने असफल भए । पटक पटकको प्रयास असफल भएपछि त्यसदिन त्यही सुतिरहेका भागीरथलाई त्यहाँ नसुत्न आग्रह गरे तर भागीरथले मानेनन् । भागीरथले नमानेपछि हरि बहादुर भने पसलबाट निस्किए ।
निरन्तर परिरहेको पानी रोकिने कुनै संकेत थिएन । घिमिरे पलसदेखि केहि टाढामात्र पुगेका थिए उनले हेर्दा हेर्दै पसलसंगै भागीरथलाई पनि पहिरोले पुरिसकेको थियो । उनले वर्षालाई भनेर ल्याएको र पसलमा पहिले नै रहेको करिव ४ लाख बराबरका सबै सामान नष्ट भयो । उनले हामिसंग भने अहिले सम्म यस्तो विपत परेको थाहा पाएको थिइन अहिले त आकाशमा कालो बादल देख्दा पनि मन अमिलो हुन्छ ।
५६ घर विस्थापित ४० घर जोखिममा,
मुसिकोट नगरपालिका वडा नं २ मा मात्रै असार १८ गतेको पहिरोका कारण ५६ घर विस्थापित बनेका छन भने ४० घर पहिरोको उच्च जोखिममा छन् । पहिरोले ११ बगांलो, ५ वटा गोठ, २ वटा होटल, १ वटा कुखुरा फर्म झण्डै ३ सय वटा पशुचौँपाया, र एउटा रोकिराखेको मोटरसाईकलमा पूर्ण रुपमा क्षति पुगेको तथ्याङ्क पालिकामा छ । त्यस्तै पहिरोको अन्य जोखिममा तथ्याङ्क सकंलन गर्ने कार्य नगरपालिकाले अहिलेपनि जारी राखेको छ ।
सिँचाइ कुलो बगायो, खेत बाँझो हुने संकेत्त
खेतबारीमा पाकेका मकै भित्राउने बेला पहिरोले पुरेपछि यहाँका किसान चिन्तित बनेका छन । मुसिकोट २ पालुङ्गका रेशम बहादुर रायमाझिले अहिलेको पहिरोले खेतमा रहेको मकै पुरै पुरेको बताउदै बाकिँ रहेका खेतमा पनि सिँचाइ कुलो पुरिएका कारण धान रोप्न समस्या भएको बताउनुभयो । पहिरोका कारण उक्त क्षेत्रमा हालसालै नगरपालिकाको ७५ लाख बजेटमा निमार्ण गरिएको ३० मिटर कुलो समेत बगाएको छ । जसका करण करिब ६० रोपनि खेत बाँझो हुने देखिएको छ । तर तत्काल नगरपालिकाले पाइपको व्यवस्था गरेर भएपनि सिचाँइको व्यवस्था मिलाएमा रोपाइ गर्न सकिने स्थानियले बताएका छन ।
प्रभावितहरु छिमेकी र विद्यालयमा आश्रय लिँदै
मुसिकोट २ कै पालुङमा गएको पहिरोेले विस्थापित बनेका यम बहादुर सिहं ठकुरीको आँखै अगाडि घरको दुवै तिरबाट खसेको पहिरोले गोठका पशुचौपाया पुर्यो भने घर पहिरोको उच्च जोखिमका कारण बस्नै नमिल्ने अबस्थामा छ । जसका कारण अहिले उहाँ सहित ४ जनाको परिवार जनज्योति प्राथमिक विद्यालयमा आश्रय लिएर बसेको छ । घरको दुवै तर्फबाट पहिरो बगेपछि आफु अहिले घर छोडेर जनज्योति प्राथमिक विद्यालयमा आएर बसेको उहाँले बताउनुभयो । पहिरोका कारण विस्थापित बनेकाहरुलाई अहिले वडा र नगरपालिकाको समन्वयमा खालि रहेका घर र विद्यालयमा स्थानान्तरण गरिएको वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्रीले बताउनुभयो । गाउँका अधिकाशं घर पहिरेको जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा रहेका विद्यालय र छिमेकी एवम खालि घरमा राखेर तत्कालका लागि उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । वर्षाले विभिन्न सडकहरु अवरुद्ध भएपछि पहिरो जाँदाको समय उद्धारमा समेत निकै कठिनाई भएको उहाँको भनाई रहेको छ ।
विद्युत, संचार र टेलिफोनबाट स्थानिय बञ्चित
विभिन्न ठाँउमा खेसेको पहिरोको करण गाँउमा विद्युत सेवा अवरुद्ध भएको छ जसका कारण त्यहाँका स्थानिय संचारको पहुचमा रहन सकेका छैन्न । मुसिकोटकै विकट क्षेत्रका रुपमा रहेका सो क्षेत्रमा टेलिफोनको पर्याप्त पहँुच छैन भने भएका टेलिफोनका टावरले अहिलेको विपतको समयमा काम नगर्दा सुचना आदान प्रदानमा कठिनाइ भइरहेको नगरप्रमख सोमनाथ सापकोटाले बताउनुभयो ।
नगरपालिकाद्धारा राहत वितरण सुरु
मुसिकोट नगरपालिकाले पहिरोका कारण विस्थापित बनेका र पहिरोको जोखिममा रहेकाहरुलाई प्रारम्भिक चरणको राहत वितरण सुरु गरेको छ । आईतबार नगरप्रमुख, उपप्रमुख सहितको नगरपालिकाको टोलीले वडा नं २ का केही स्थानमा पहिरोको अवलोकन पश्चात राहत वितरण गरेका हो । नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले विस्थापितहरुलाई प्रारम्भिक चरणमा ५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको बताउनुभयो । विस्थापितहरुको उद्धारका लागि नगरपालिका मार्फत त्रिपाल र अन्य आधारभूत सामाग्रीहरु उपलब्ध गराउने र हिँउद सुरु हुनासाथ उनीहरुलाई बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा सारीने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । जोखिममा रहेका क्षेत्र र विस्थापित परिवारहरुलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत सामाग्रीहरु वितरण गर्ने उहाँले बताउनुभयो । अहिले वडाले छिमेकी र विद्यालयमा आश्रय लिएर बसेकोको व्यवस्थापन गरिरहेको छ ।