मनु सुनार, गुल्मी २०७७ असार २८ । असारको महिना झरी परीरहेको छ । खोला नालाको वहाव बढेको छ । भिरपाखामा बग्ने छहराको वेग तिव्र भएको छ । सबैतिर हरियाली छाएको छ । भिरपाखा र काल्नाहरुबाट छङछङ गर्दै बग्ने छहराले प्रकृतिको सुन्दरतालाई झन बढाएको छ । यस्ता मनमोहक दृश्यावलोकन गर्न जो कोही पनि लालायित हुन्छन् ।
यसैको उदाहरण बनेको छ, गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्ने ह्वाक्ने छहरा । पहाडको बिचभागबाट लहराई रहेको यो छहराले यतिबेला सबैको ध्यान केन्द्रित गरेको छ । सम्भावनाले भरिपुर्ण यो स्थान रेसुङ्गा नगरपालिका–१० मा पर्छ । तम्घास–रिडि सडकखण्डमा पर्ने भएकाले पनि यतिबेला धेरैको ध्यान यसले तानेको हो । सदरमुकाम देखि दुई पाङग्रेमा हँुइकिएर जाँदा कम्तिमा १० मिनेटमा यस स्थनमा पुग्न सकिन्छ ।
यतिबेला त्यस स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । शनिबार (आज) आन्तरिक पर्यटकहरुको निकै घुइँचो देखिन्थ्यो । उनीहरु छहरासँगै फोटो खिच्न व्यस्त थिए । त्यहि भिडमा थिए, रेसुङ्गा नगरपालिका–९ का नविन बराल । ‘निकै आर्कषक छहरा छ,’ उनले भने यसलाई सही रुपमा व्यवस्थापन गर्न सके आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य पर्यटक समेत भित्र्याउन सकिन्छ ।’ बरालले आगामी दिनमा यसको व्यवस्थापनका लागि आवश्यक पुर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।
उनीमात्र होइन क्याम्पस रोडका आशिस पन्थी पनि उनीसँगैे फोटो खिच्न व्यस्त थिए । उनले सदरमुकाम भित्रिने पर्यटकहरुलाई यसको जानकारीका लागि ब्यानर बनाएर जानकारी दिनुपर्ने सुझाव दिए । यसको प्रचारप्रसार गर्न सके पर्यटकीय स्थलका रुपमा यसलाई विकास गर्न सकिने बताए ।
बालबालिका देखि उमेरले पाका समेत यतिबेला यस छहरामा रमिरहेका छन् । धुर्कोटकी गितु खनाल पनि रमाई–रमाई फोटो खिच्न व्यस्त थिइन् । उनले त्यहाँको स्थानलाई व्यवस्थित बनाउन आग्रह गरिन् । पार्किङ स्थल नभएकाले सडकमा जथाभावि रुपमा सवारी पार्किङ गर्दा मुख्य सडक भएकाले दुर्घटनाको जोखिम हुने बताइन् । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥र्याउन आग्रह समेत गरिन् ।
उनीसँगै रहेकी अर्घाखाँची छत्रदेव गाउँपालिकाकी गोमा मरासिनीले बर्खायाममा मात्र नभई हिउदको समयमा पनि यसलाई सदावहार बनाउन सके बाह्य पर्यटकहरुको पनि घुइँचो लाग्ने बताइन् । ‘हिउँदको समयमा यो स्थान सुनसान हुन्छ । यसका लागि अन्यन्त्र स्थानबाट भएपनि पानीको व्यस्थापन गरी सदावहार बनाउनु पर्छ ।’ छहरा नजिकै खाजा नास्ताको व्यवस्थापनका लागि होटल सञ्चालन भए रोजगारी समेत सिर्जना हुने उनको भनाई छ ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरपालिकाभित्र रहेका पर्यटकीय रुपले सम्भावंनायुक्त स्थलहरुको संरक्षणका लागि आफुहरुले बिशेष ध्यान पु¥र्यारहेको उल्लेख गरे । उनले आगमी दिनमा नगरभित्र पर्यटकीय गन्तव्य बन्ने स्थलहरुको अझ विस्तृतमा रुपमा अवलोकन तथा अध्ययन् गरी आवश्यक पुर्वाधार निर्माणतर्फ ध्यान पु¥र्याउने बताए ।