लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७७ असार २८ । ढोरपाटन नगरपालिकाको आर्थिक सहयोगमा वडा नं.१, बुर्तिबाङ स्थित उत्तरगंगा नमुना माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापन गरिएको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको शिक्षातर्फको विनियोजित बजेटबाट रु. ६ लाख ५० हजारको आर्थिक सहयोगमा उक्त पुस्तकालय व्यवस्थापन गरिएका हो । पुस्तकालय व्यवस्थापनका लागि रु. ३ लाख ८५ हजार ७५ रुपैयाँ बराबरको पुस्तकहरु खरिद गरिएको र बाँकी रकमको पुस्तकालय कोठा व्यवस्थापन तथा सामग्री निर्माण तथा खरिद गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद पौडेलले जानाकारी दिए । पुस्तकालय व्यवस्थापनको सबै काम सकिएकाले लकडाउनपछि विद्यालय खुलेसंगै पुस्तकालय संचालनमा आउने पौडेलले बताए ।
पुस्तकालय संचालनमा आएपछि विद्यालयमा अध्ययनरत करिब १ हजार २ सय बढी विद्यार्थीहरु लाभान्वित हुने बताइएको छ । क्षेत्रकै सबैभन्दा बढी विद्यार्थी भएको उक्त विद्यालयमा पुस्तकालयको व्यवस्थापनले पठनपाठनका साथै शिक्षक विद्यार्थीबीचको सिकाइ कार्यमा थप सकारात्मक प्रभाव पर्ने देखिएको छ ।
त्यसैगरी पुस्तकालय व्यवस्थापन संगै आई.सी.टी. ल्यापको व्यवस्थापन कार्य समेत भइरहेको छ । नेपाल सरकार मार्फत नेपाल दूरसंचार प्राधिकरणको रु. २५ लाखको आर्थिक सहयोगमा उक्त ल्याब निर्माण हुन लागेको हो । यो ल्याब प्रयोगमा आएपछि ई–लाइब्रेरी प्रयोगमा आउने छ भने इन्टरनेटको प्रयोगबाट शिक्षक विद्यार्थीले पाठ्यवस्तु तथा शिक्षण सामग्रीका धेरै विषयवस्तुको जानाकारी र प्रयोग कम्प्यूटरको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।
अहिलेसम्म बुर्तिबाङ क्षेत्रमा व्यवस्थित सार्वजनिक पुस्तकालय र सूचना केन्द्रको अभाव खट्किदै आएको छ भने विगतमा संचालनमा आएको सामुदायिक अध्ययन केन्द्रलाई समेत व्यवस्थित गर्ने तर्फ कसैको ध्यान गएको देखिदैन ।