Sorry, that menu does not exist.
 

पश्चिम बागलुङका ४ पालिकाहरुमा सलहले बालिनालि सखाप पार्न थालेपछी किसान चिन्तामा !

टिकाराम भट्टराई, बुर्तिबाङ,२०७७ असार ३१ । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ ।

सलह किराले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका, तमानखोला गाउपालिका र बडीगाड गाउपालिकाका किसानहरुलाई समेत हैरान पारेको छ । पछिल्लो क्रममा भित्रिएको सलह किराले बुर्तिबाङ आसपासका क्षेत्रहरुमा बिहान देखि नै आतंक मच्चाइरहेको छ । सलहको झुण्डले बालीनाली नष्ट गर्न थालेसगैँ कतै भोकमरी लाग्ने हो कि भन्ने चिन्ता लागिरहेको वडा नम्बर ३ का स्थानिय देउपति सापकोटाले बताए । ढोरपाटन नगरपालिका वडा नम्बर १ को भब्रेता आसपास, वडा नम्बर २ को रिनाम भ्यालखर्क,कुतथाप्पा,खल्बाङ, वडा नम्बर ३ को बिस्मोर, पुरर्कोट, घोसा, सामा, कालापोल लगाएतका क्षेत्रका कृषकहरुलाई यतिबेला आफ्नो बालीनाली जोगाउन हम्मे हम्मे परिरहेको छ ।

निसीखोला गाउँपालिका,तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका बिभिन्न वडाहरुमा पनि सलहको प्रकोप निकै बडिरहेको किसानहरुको भनाई छ । सलह किरा भगाउनका लागि किसानहरुले धुवा पुत्ताउने, भाडाँकुडाँ बजाउने, कराउने, ताली बजाउने लगायत बिभिन्न बिधि अपनाए पनि आफ्नो सबै बालीनाली जोगाउन नसकिएको किसानहरुको गुनासो रहेको छ । केहि समयसम्म आकाशमै उडिरहेको देखिए पनि मङगलबार दिउँसो देखि भने लगाएका बालीनालीहरु मकै, कोदो, धान लगायत अन्य हरिया बोट बिरुवाहरु खान सुरु गरेको छ ।

आकाशमा उडिरहेका सलहलाई बिभिन्न विधि अपनाएर भगाउन सकिने भएपनि बालीनालीमा बसिसकेका सलहरुलाई भने भगाउन नसकिने किसानहरुको भनाई रहेको छ । हिजो देखि मौसम सक्रिय हुँदा सलह पनि सक्रिय हुन थालेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

7 Comments