Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्गको गल्कोट खण्डको नगरपालिका टोलीव्दारा स्थलगत अवलोकन !

थम्मन थापा, गल्कोट २०७७ साउन ७ । निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको गल्कोट खण्डमा पनि ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । वर्षाकै कारण लोकमार्गको दुदिलाभाटी खण्डमा सडक भासिने र पहिरो खस्ने क्रम बढेको छ । गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर सहितको टोलीले आज मध्यपहाडी लोकमार्गको स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन पछि नगर प्रमुख गैरेले मध्यपहाडी लोकमार्गको दुदिलाभाटी भुङखानीमा झण्डै ४० मिटर, काफलठुटामा झण्डै १० मिटर, जम्दारे घुम्तीमा झण्डै २० मिटर र चौराहमा झण्डै १० मिटर सडक भासिएको ईबागलुङलााई जानकारी दिए ।
निरन्तर परेको वर्षा सँगै सडक मुनि बाट पहिरो खसेपछि सडक भासिएको हो सडक भासिदा सडक मुनिको बस्ती समेत जोखिममा परेको नगरप्रमुख गैरेको भनाई छ ।

लोकमार्ग सडक चिरा चिरा परे पछि नरेठाटी बजेनीका ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । सडक सुचारु गर्न नगरपालिकाले आवश्यक पहलकदमी थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताईन । त्यसको लागि जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक विभागको कार्यालयमा समन्वय भइरहेको नगर उपप्रमुख काउचाको भनाई थियो । सडक पूर्ण रुपमा बन्द हुन नदिन नगरपालिकाले तत्काल आवश्यक काम सञ्चालन गर्ने जानकारी दिँदै उपप्रमुख काउचाले हामीले सडक र बस्ती दुवैलाई थप क्षति हुन नदिन आवश्यक सावधानी र सुरक्षा सतर्कता अपनाउन हरदम प्रयास गरेको ईबागलुङलाई बताईन् ।

भासिएको सडकमा जुनसुकै बेला पहिरो जान सक्ने जोखिम समेत उत्तिकै बढेको छ । अहिले लोकमार्गमा जोखिम मोलेर बागलुङ सदरमुकाम, पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा सवारीसाधनहरुले यात्रा गरिरहेका छन् । पानी पर्ने क्रम नरोकिएकोले पहिरो जाने र सडक अवरुद्ध हुने सम्भावना पनि बढेको वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताए। अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा नगर्न यात्रु तथा गाडीहरुलाई अनुरोध समेत गरेको वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले जानकारी दिए। सडकको स्थलगत अवलोकनको निम्ति जनप्रतिनिधि, पत्रकार, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !